मधेश प्रदेशका सत्तारुढ नेपाली कांग्रेसकै सांसद कुमरकान्त झाले मन्त्रीहरु फोनसमेत नउठाउने गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै उनले उद्योगमन्त्री बसन्त कुशवाहाले फोन नउठाएको गुनासो गरेका हुन् । कुशवाहा जनमत पार्टीबाट मन्त्री बनेका छन् ।
सांसद झाले भने, ‘केही मन्त्रीहरु आफूलाई ठूलो ठान्न थाल्नुभएको छ । जस्तै उद्योग मन्त्रीलाई सय पटक फोन गरे । रिसिभ भएन । केही मान्छेसँग बुझ्दा थाहा भयो उहाँ (मन्त्री) कसैको फोन उठाउदैन । भेट्दैन पनि ।’
मन्त्री ज्यूले फोन रिसिभ नगरेपछि दुःख लागेको भन्दै उनले भने, ‘तपाईंसँग केही लिनु छैन । तपाईं के दिनसक्नुहुन्छ ? कम्तिमा माननीयले फोन गरेपछि उठाएर कुरा त गर्नुपर्छ ।’
‘मन्त्री ज्यूलाई एक माननीय मित्रले भेट्न जानुभयो’, सांसद झाले संसदलाई सुनाए, ‘निवासमा रहेका उहाँको मान्छेले भन्यो मन्त्री जी व्यस्त हुनुहुन्छ । अनि भित्र पसेपछि मन्त्री जी त मोबाइलमा भिडिओ हेर्दैहुनुहुन्थ्यो ।’
उनले फोन नउठाउने आचरण त्याग्न सबै मन्त्रीसँग आग्रह समेत गरे । उनले मन्त्रीहरुलाई सुझाए, ‘यस्तो काम नगर्नुस् । भेट्न चाहनेलाई भेट्नुस् । फोन उठाउनुस् । व्यस्त भएको बेला पछि कम्तिमा फोन फर्काउनुस् । मन्त्री बनेपछि आफूलाई ठूलो र माननीयलाई सानो ठान्नु हुँदैन ।’


