२०८२ जेष्ठ ३१, शनिबार ०८:२९

वैदेशिक रोजगारीको लागि युके पठाइदिने भन्दै ११ करोड ठगी गरेको आरोपमा काठमाण्डु प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डुको नरेफाँटबाट अरुणराज शर्मा र लक्ष्मण पराजुली रहेका छन् । भने केही महिना अघि वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाउने नाममा ठगी गर्दै आएकी महोत्तरीको बर्दिवासकी दीपाकुमारी पोख्रेललाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेको करिब एक महिनापछि प्रहरीले यी दुईजनालाई पक्राउ गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–१० घर भएका कपनस्थित सरस्वती नगर बस्दै आएका ४४ वर्षीय लक्ष्मण पराजुली ‘आइइएलटीएस’ पढाउने शिक्षक छन् । पराजुली दम्पतीले चाबहिलमा विदेश जानेहरूका लागि अध्यापन गर्ने ‘इएलटी सेन्टर’ सञ्चालक हुन् । तर त्यही इएलटी सेन्टरमा ‘आइइएलटीएस’ पढ्न आएकाहरूलाई वर्किङ र पर्मानेन्ट भिसा लगाएर बेलायत पठाउँछौँ भन्दै रकम ठगेको आरोपमा पराजुली पक्राउ परेका छन् भने पत्नी सम्झना पौडेल भने फरार छिन् ।

सोही कार्यमा पराजुलीलाई सघाएको आरोपमा धनुषाको सवैला नगरपालिका–१२ का ४७ वर्षीय शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाण्डु– ३२ नरेफाँट स्थित शर्माको डेराबाट दुवै जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

बेलायतको सपना देखाएर उनीहरूले ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । ३८ जना पीडितहरूले उनीहरुविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ । आरोपीहरूले प्रतिव्यक्ति ३५ देखि ४० लाख रुपैयाँ असुलेको भेटिएको छ । ठगिनेहरू अधिकांश स्नातक पास गर्नेहरू छन् ।

अरुणराज शर्माचाहिँ कन्सल्टेन्सीमा काम गर्छन् । करोडौँ ठगीमा संलग्न आरोपीहरू डेरामा बस्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । विद्यार्थीहरूसँग असुलेको रकम भारतीय एजेन्टलाई बुझाएको उनीहरूले बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूको जीवनशैली हेर्दा ठगेको रकम भारतीयहरूले लगेको हाम्रो आशंका छ ।’ पराजुलीले आफूले उठाएको रकम ‘करिअर टेक कन्सल्टेन्सी’मा बुझाएको अनुसन्धान अधिकृतहरूलाई दाबी गरेका छन् ।

पराजुली र शर्मासँग जोडिएका अर्का एक जना भारतीय नागरिक रहेको बताइएको छ । यस्तै ठग्ने गिरोहमा संलग्न भारतीय नागरिक राहुल पुञ्ज यसअघि पक्राउ परेका थिए । आफूले एमबिबिएस अध्ययन गरेको दाबी गर्ने पुञ्ज धरौटीमा छुटिसकेका छन् । नेपालबाट बेलायत जान चाहनेहरूलाई भारतबाट ‘ प्रोसेसिङ’ गर्ने सर्तमा रकम लिने गरेको आरोपीहरूले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

पराजुलीले सञ्चालन गरेको ‘इएलटी सेन्टर’मा लेखापालको रूपमा कार्यरत कविता तिमल्सिनालाई यसअघि प्रहरीले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको थियो । वैदेशिक रोजगार न्यायाधिकरणले तिमल्सिनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ । वैदेशिक रोजगार विभागले पराजुली र शर्माको गिरोहसँगबाट जरिवाना र बिगोसहित १६ करोड ६० लाख रुपैयाँ असुल गर्नुपर्ने मागदावी लिएको छ ।

तर असुलेको रकम भारतीयलाई बुझाएको भन्दै उनीहरू पञ्छिए । महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

केही महिना अघि वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल पक्राउ गरेको थियो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन् । तर उनी लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भइन् । पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News