२०८२ असार १, आईतवार ०७:४४

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन प्रणालीकै कारणले विकृति र भ्रष्टाचार बढेको उनको भनाइ छ । उनले पार्टी र उम्मेदवार दुवैले खर्च गर्न नपर्ने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पूर्ण समावेशी हुने गरी जानुपर्छ । त्यसो हुँदा खर्च न उम्मेदवारको हुन्छ न त पार्टीको नै ।’ उनले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिए । सांसदलाई मन्त्री बनाउन छाड्ने हो भने ठूलो समस्या हल हुने उनको बुझाइ छ ।



उनले भने, ‘राजनीतिक अस्थिरता सरकार बनाउन नै भएको छ, मैले त भोगेको हो । एउटा पार्टीले सबैलाई मन्त्री बनाउन सक्दैन, प्रधानमन्त्रीको पार्टीले आइज मन्त्री बनाइदिन्छु भनेर पार्टी फुटाउँछन् । राति पार्टी फुटाउँछ, बिहानै मन्त्रीको शपथ लिन्छ । प्रधानमन्त्रीले गौरवसाथ भाषण गर्छन्, मैले सरकार टिकाउन फलानो पार्टी फुटाएँ भनेर । यो सुहाउने कुरा हो ? उनले सांसदहरूलाई मन्त्री नबनाए पार्टी फुटाउन खरिदबिक्री नै नहुने बताए ।

संविधानसभामा खसीबोका किने जस्तो गरेर सांसदहरुलाई रिसोर्टमा लगेर राखेको आफैँले देखेको उनले स्मरण गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरू पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए । यसले कतिपय सांसदहरूले अर्को पटक मत नै नपाउने स्थिति बनेको बताए । उनले राजनीतिक स्थिरता नभईकन विकास सम्भव नहुने बताए। पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

संघीयताले देशमा बद्लाव आए पनि मधेशीसंग अझै पनि विभेद हुने गरेको बताउँदै उनले भने, ‘ आदिवासी जनजातिलाई पहरिया बहरिया भनेर अझैसम्म पनि भनिने गरिन्छ ।’ उनले संघीयताबारे सरकारको अझै पनि प्रस्ट खाका नरहेको बताए । मधेश केन्द्रित दलले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाबारे बोल्दै अध्यक्ष यादवले मोर्चा जागेको बताए ।

मोर्चाले विभिन्न निर्णय गरी, दिनहुँ बैठक बसेर कामकाज गरिरहेको बताए । सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने भन्दै जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए । प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको प्रत्याभूति गर्न नपाएको उनको दाबी छ ।

नेपाल अझै पनि गरिब मुलुक नै रहेको उनले टिप्पणी गरे । उनले यहाँका जनता हिजो पनि गरिब नै थिए, अझैपनि गरिब नै रहेको बताउँदै उनले संघीयता आए पछि मुलुकमा केही जनताको सुधार पनि भएको बताए । संघीयताले समावेशी समानुपातिक दिएको उनले बताए । संघीयताले सबैलाई बोल्ने हक दिएको बताउँदै अध्यक्ष यादवले केन्द्रमा साझेदारी र प्रदेशमा स्वायतता नआउँदासम्म संघीयताको अनुभूति आमजनताले सही ढंगले गर्न नपाउने बताए ।

उनले केन्द्र सरकारकै कारण संघीयतामाथि विभिन्न किसिमका टिकाटिप्पणी हुने गरेको बताए । उनले सारा समस्याको जड नै केन्द्रीय सरकार रहेको बताए । संघीय सरकारले गतिलो काम नगरी प्रदेश सरकारमाथि दोष थुपार्नु गलत रहेको अध्यक्ष यादवले बताए । उनले संघीय सरकारले प्रदेश सरकारमाथि दोष लगाउने र काम गर्ने कर्मचारी र प्रदेशको प्रशासन आफ्नै हातमा राखेर प्रदेश सरकारमाथि प्रश्न गर्नु अनुचित रहेको बताए ।

उनले संविधान संशोधन गरी अधिकार, पहिचान र पूर्ण समावेशी समानुपातिकसहित राज्य पुनःसंरचना भएमा मुलुकले सही गति लिने बताए । मुलुकमा संघीयता आएको लामो समय भए पनि अहिलेसम्म पनि संघीयको प्रयोग राम्ररी हुन नसकेको उनको भनाइ छ । अध्यक्ष यादवले मुलुकमा संघीयता बिना देशको कल्पना गर्न नसकिने बताए । अढाई सय वर्षदेखि देशलाई दोहन गरिसकेकाले फेरि एकात्मक शासन आउने र केन्द्रिकृत राज्य स्थापना गरी राजतन्त्र फर्किन्छ भन्नु दिवास्वप्न रहेको अध्यक्ष यादवले बताए ।

Comment


Related News

Latest News

Trending News