स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दुई करोड ५२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र पर्साका अधिकृत (आठौँ तह) गौतमले पदमा रहँदा मर्यादाविपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ ।
गौतम सार्वजनिक पद धारण गरेको मिति ७ वैशाख ०५५ देखि २४ चैत ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण आयोगले गरेको छ । पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घररजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण–सापटी लिएको रकम, सेयर बिक्रीबाट प्राप्त रकम, सवारीसाधन बिक्री आय, बीमा परिपक्व/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी जाँच अवधिमा गौतमको दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँ आयआर्जनको स्रोत खुलेको छ ।
जाँच अवधिमा नै एकासगोल घर परिवारको नाममा घर निर्माण, घर–जग्गा खरिद, घररजग्गा रेजिस्ट्रेशन शुल्क, सवारीसाधन खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष–बैंक–जनक शिक्षा सामग्रीमा ऋण तिरेको रकम, सेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी गौतमको कुल खर्च तथा लगानी भने पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ देखिएको छ ।
सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी सरला नेपालका नाममा राखेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।


