बाढी पहिराको कारण देशका ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।
वर्षापछि बाढीपहिरो जाँदा पाँच प्रदेशका ११ राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमा ६ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन्।
धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने मुख्य सडक अवरुद्ध बनेका हुन्। जसमध्ये पाँचवटा सडकमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका- २ कोदारी, भोटेकोसी- ३ लार्चा र भोटेकोसी २ कोप्लाङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेकाे छ।
त्यसैगरि काभ्रेको धुलिखेल नगरपालिका- ११ बाँझोखेतमा बाढी आउँदा अवरुद्ध भएको बीपी राजमार्गमा एकतर्फी गाडी गुड्न थालेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका- ५ को तुइन खोला र ६ को नाम्सी पुलमा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा पनि एकतर्फी गाडी चल्न थालेका छन्।
त्यसैगरि नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका- १ मा बाढीको कारण पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ३ रुप्सेमा पहिरो जाँदा बेनी-जोमसोम सडक पनि पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि गुल्मीको कालीगण्डकी गाउँपालिका- ६ बर्लबामा पहिरो जाँदा अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक पनि एकतर्फी खुलेको छ।
जुम्लाको सिंजा गाउँपालिका- २ चुलेलगाउँमा पहिरो जाँदा जुम्ला- मुगु सडक पनि अवरुद्ध छ।
डोल्पाको त्रिपुरा सुन्दरी गाउँपालिका- १ छलघाटमा पहिरो जाँदा भेरी करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ।



