चरम भ्रष्टाचार हुने आरोप लाग्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व निर्देशक बलराम ठाकुरसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् का तत्कालीन कार्यकारी निर्देशक ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवि ढुंगाना, लेखा अधिकृत सावित्री गिरीसहित ९ जनामाथि अख्तियारले मुद्दा दर्ता गरेको छ । उनीहरूले सार्वजनिक रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

ठाकुरले कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा (२०७५ मंसिर ५ देखि २०७९ मंसिर ४ सम्म) पदको दुरुपयोग गरी झुट्टा कागजात तयार गरेर, सार्वजनिक खरिद प्रक्रिया नअपनाइ, बजेट दुरुपयोग गरेर र श्रीमतीको नाममा गाडी खरिद गर्नसमेत कार्यालयको रकम प्रयोग गरेर भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा दर्ता गरेको छ ।
आयोगको अनुसन्धानमा ठाकुरले स्कारपियो गाडी (बा १३ च २०३७) श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा खरिद गरेका थिए । त्यसका लागि कार्यालयको नाममा अन्य व्यक्तिसँग झुट्टा सम्झौता गरी सोही नामको खातामा १० लाख रूपैयाँ चेकमार्फत भुक्तानी गरेको पाइएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाडी भाडामा लिएको झुटो विवरण देखाई इन्धन, मर्मत र भाडा शीर्षकमा गरी करिब २० लाख रूपैयाँ गैरकानुनी रूपमा निकासा ठाकुरले लिएको देखिएको सहायक प्रवक्ता थपिलयाले जनाएका छन् । सार्वजनिक खरिद नियम विपरीत ठाकुरले जनकपुर यात्री निवासको मर्मत सम्भार र सौन्दर्यीकरण कार्य उपभोक्ता समितिमार्फत गराउने निर्णय गराएको आयोगले आरोप लगाएको छ ।
गेट निर्माण र सौन्दर्यीकरणको काम ठेकेदारमार्फत गराएर उपभोक्ता समितिको नाममा रकम निकासा गराएर त्यसैबाट २ लाख रूपैयाँ फेरि गाडीको भुक्तानीमा प्रयोग भएको पाइएको सहायक प्रवक्ता थपिलियाले बताएका छन् । तत्कालीन कार्यकारी निर्देशक ठाकुरले अन्य ८ जनासँग मिलेमतोमा कूल ५१ लाख ७१ हजार ८ सय ४४ रूपैयाँ ७४ पैसा रकम हिनामिना गरेको आयोगले ठहर गरेको छ ।
आयोगले उनीसँगै उनकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, परिषद्का कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीविराज शर्मा ढुंगाना, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादवलाई प्रतिवादी बनाएको छ ।
अख्तियारले ठाकुरमाथि ५१ लख ७१ हजार ८ सय ४४ रुपैया ७४ पैसाको बिगो कायम गरेको छ । लेखापाल गिरिमाथि ३० लाख ७२ हजार ८ सय ४४ रुपैया, प्रशासकिय अधिकृत ढुंगानामाथि १० लाख १ हजार ८ सय ७६ रुपैया, कम्प्युटर अपरेटर कृष्णमुरारी सिंहमाथि १४ लाख ९९ हजार रुपैयाँ, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बबिता देवी साहमाथि २० लाख ९९ हजार रुपैयाँ र ठेकेदार जितेन्द्र कुमार यादवमाथि २ लाख रुपैयाँको बिगो कायम गरेको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो केही कार्यकालदेखि काम भन्दा विवाद र आर्थिक अनियमिततामा अल्झिने गरेको देखिन्छ । तत्कालीन कार्यकारी निर्देशक ठाकुरले मधेश प्रदेश सरकारबाट १२ करोड रुपैयाँ जानकी मन्दिर लगायतका केही मठमन्दिर सौन्दर्यकरणका लागि निकासा गराएर आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । तर त्यो मुद्दा हाल तामेलीमा राखिएको बताइएको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्वामित्वमा रहेको यात्री निवासको ठेक्का पनि ठाकुरकै कार्यकालमा लागेको हो । सो ठेक्काको विवाद अझै सुल्झिएको छैन । बृहत्तरका वर्तमान अध्यक्ष शितल साह किर्ते जालसाजी मुद्दामा फरार भएका छन् । उनले कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते जालसाजी गरेको अभियोगमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष साह फरार रहेका छन् । बृहत्तरमा कार्यरत्त कर्मचारीहरुको तलब पनि साहले डेढ वर्षदेखि रोकेका थिए । बृहत्तरमा कार्यरत्त कर्मचारीहरुमाथि विभिन्न निकायमा कयौँ मुद्दाहरु दर्ता रहेका छन् ।
note :- मिति २०८२ असार ६ गत्तेको जनकपुर टुडेको हार्ड काँपीमा मुख्य समाचारको फोटो अन्यथा पर्न गएकोले भूल सुधार गरी अन्य PDF र समाजिक सञ्जालमा सच्याइएको छ ।


