२०८२ असार ६, शुक्रबार ०८:३५

कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर पूर्वपश्चिम राष्ट्रिय राजमार्ग निर्माणको ठेक्का पाएको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले पाँच वर्षमा पनि निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न गर्न सकेको छैन ।

सन् २०२० मा १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको यो कम्पनीले २८ अक्टोबर २०२३ मै ८५ किलोमिटर चार सडक, पुल, कल्भर्ट, बाइपास बनाइसक्नु पर्ने थियो । तर पनि अहिलेसम्म ६० प्रतिशत मात्र काम भएको बुझिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विस्तार भइरहेको चार लेन सडक निर्माणको काम सुस्त हुँदा सिरहा र सप्तरीका स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन् । सो सडक विस्तारको क्रममा निर्माण कम्पनीले सडक भत्काएर त्यत्तिकै छोडिदिँदा यस राजमार्ग भएर यात्रा गर्नेहरू पनि धुलोको तुवाँलोमा सास फेर्न बाध्य छन् ।



राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका देवकुमार यादवले आजित भैसकेको छन् । करिब पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य रहेका छन् । धुलो छल्न मास्क लगाउँदा पनि उनी पटक पटक रुघाखोकीको चपेटामा पर्दै आएका छन् । उनले राजमार्ग छेउका अधिकांश व्यक्ति धुलो र हिलोले हैरान छन् ।

तर, राज्यले समयमै निर्माण सक्न यो कम्पनीलाई सक्रिय बनाउन नसकेको स्थानीय मुकेशकुमार साहको भनाइ छ । करिब पाँच वर्षदेखि सडक विस्तारको काम भइरहेको छ । तर, अहिलेसम्म पूरा भएको छैन । धूलो र हिलो झेल्नु हाम्रो नियति जस्तै बनेको छ । यो कम्पनीको मनोमानीमा सरकारको मौन समर्थन रहेको उनको बुझाइ छ ।

यादवले जस्तै धुलो र हिलोले हैरान भएका छन् लहानका अर्का व्यापारी मनोज भगत । भगतका अनुसार घरबाट पसल आएर फर्किदा ननुहाई हुँदैन । शरीरभरि धुलोले ढाकिन्छ उनले भने,‘राती घर फर्किदा नुहाएर लुगा फेर्नुपर्छ । राती अनिवार्य नुहाउन र कपडा धुनुपर्ने बाध्यता हुन्छ । शरीरको बाहिरी भाग त नुहाएर पखालिन्छ तर, श्वासमार्फत शरीरभित्र पस्ने धुलोलाई कसरी सफा पार्नु ? यसले श्वासप्रश्वासमा गम्भीर असर पारिरहेको थाहा हुँदाहुँदै हामी निरीह बनेका छौँ । उनलेजनाए अनुसार ठेकेदारले विगत दुई वर्षसम्म संरचना भत्काएर काम नगरी बसेका थिए । जसका कारण यस भेगका हजारौँ मानिस स्वास्थ्य जोखिम मोलेर रोजगार गर्न बाध्य छन् ।

समयमै काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई सरकारले दुई पटक म्याद थपिदिएको छ । २८ अक्टोबर २०२३ मा १४ महिना र त्यसपछि १२ महिनाको म्याद थपिएर अब ३१ डिसेम्बर २०२५ भित्र कम्पनीले निर्माणको काम सक्नुपर्ने पछिल्लो सम्झौता छ । तर, थपिएको म्याद सक्न चार महिना बाँकी रहँदा काम भने आधा मात्र सम्पन्न भएको छ ।

कञ्चनपुर कमला सडक योजनाले पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम गरिरहेको छ । पूर्वी सप्तरी कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटर र पश्चिमी कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर । सो अन्तर्गत पूर्वी खण्डमा ५४ प्रतिशत प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी कञ्चनपुरदेखि कुशहा योजनाका इञ्जिनियर राजीवकुमार झाका अनुसार कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटरमा अहिलेसम्म भौतिक प्रगति ५४ प्रतिशत छ भने भुक्तानी ४५.७२ प्रतिशत छ ।

३९.४२ किलोमिटरमध्ये कालोपत्रको काम भने एकतर्फी १८ किलोमिटर मात्र भएको छ । दुईतर्फी कालोपत्रको काम खासै हुन सकेको छैन । इञ्जिनियर झाले पूर्वी खण्डमा २९ वटा पुल बनाउनु पर्नेमा एकतर्फी दुई लेनको सबैको फाउन्डेसन र सबस्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । २ ९ मध्ये १६ वटा पुल सुपरस्ट्रक्चरको काम सम्पन्न भएको इन्जिनियर झाको भनाइ छ ।

तर फिनिसिङ बाँकी रहेकाले सञ्चालन हुन बाँकी छ । त्यस्तै १ सय १४ वटै कलभर्ट निर्माणको काम दुईतर्फी नै सम्पन्न भइसकेको उनको भनाई छ । इञ्जिनियर झा विगत दुई वर्षमा ठेकेदार विभिन्न कारण काम सुस्त गतिमा गरेको स्विकारे । यस आयोजनको पश्चिमी भाग कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर चार लेन सडक विस्तारमा हालसम्म ६०.३१ प्रतिशत भौतिक प्रगति रहेको आयोजना कार्यालयले जनाएको छ ।

पश्चिमी योजनाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाका अनुसार ४७.४१ किलोमिटरमध्ये दक्षिणतर्फको ३१.९ र उत्तरतर्फको २५.९ किलोमिटरमा कालोपत्र भइसकेको छ । कालोपत्र अब १६ किलोमिटर मात्र बाँकी छ । दक्षिणतर्फ १६ र उत्तरतर्फ २२ किलोमिटर कालोपत्र गरेपछि कालोपत्रको काम सम्पन्न हुने उनको भनाइ छ ।

बजार क्षेत्र लहान, गोलबजार, मिर्चैया, बन्दीपुर क्षेत्रमा कालोपत्र काम बाँकी रहेको उनले बताए । लहानमा ओभर पासका लागि सहिद स्तम्भ व्यवस्थापन, धाराको पाइप स्थानान्तरण, गोलबजार र बन्दीपुरमा बिजुलीको पोल नहटाउँदा काममा समस्या भइरहेको सूचना अधिकारी कोइराला बताउँछन् । दुईतर्फी रूपमै सबै १ सय १२ वटा कल्भर्ट बनिसकेको उनले बताए ।

जसमा भुक्तानी ४८.६९ प्रतिशत भइसकेको छ । उनका अनुसार यस खण्डमा जम्मा एकतर्फी २५ वटा पुल बनाउनु पर्नेमा १९ वटा ढलान भइसकेको छ । लहान र मिर्चैयामा २ वटा ओभरपास निर्माणको काम बाँकी छ । विगतमा कम्पनीले कामको गति सुस्त देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस कम्पनीलाई सचेत गराएको थियो ।

त्यसपछि कम्पनीले कामलाई तीव्र पारेको थियो। तर, फेरी काममा ढिला भएको छ । कमला कञ्चनपुर सडक पश्चिमी योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार काम सुस्त भएको भनेर भौतिक मन्त्रालयले सचेत गराएपछि एक पटक अझै म्याद थपेर कामलाई गति दिनुपर्ने सहमति भएको छ । भएन भने ठेक्का तोड्ने कुरा पनि भएको उनले बताए । यस पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्ने गरी कम्पनीलाई काममा गति दिने भएको छ ।

Comment


Related News

Latest News

Trending News