२०८२ असार ८, आईतवार ०७:३१

धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधिले दिनदहाडै सर्वसधारणको लुटपाट गर्दै घर तोडफोडसहित फलफूलको बोटवृक्ष उखालेर उपद्रव मचाएको आरोप लगाइएको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा परिचालन गरिएका युवाहरुको एक समूहले उपद्रव मचाउँदै तीनजना महिलासहित पाँचजनामाथि दुव्र्यवहार तथा कुटपिट गरेको आरोप पीडितहरुले लगाएका छन् । सो क्रममा उर्मिला देवी चौधरी, ज्योति चौधरी, अनिता चौधरी, सत्यम् चौधरीलगायतमाथि दुव्र्यवहारसहित कुटपिट गरेको पीडित उर्मिला देवी चौधरीले बताइन् । अनिता चौधरीले आफूले घाँटीमा लगाएको सुनको सिक्रीसमेत ती समूहले लुटेर लगेको बताइन् ।



त्यस्तै उर्मिलाको पनि सिक्री लगेको उनले बताइन् । ज्योतिको हातमा रहेको मोवाइल पनि खोसेर पोखरीमा फालेको उनको भनाइ छ । एकाएक एक हुल प्रवेश गरी घरभित्रका खाद्यान्न, लत्ताकपडा, नयाँ घर बनाउनका लागि राखिएको ८ थान सखुवाको झ् याल, केही थान ढोकासमेत लगेको दुखेसो नारायण चौधरीले पोखे ।

दुर्गा मन्दिर अगाडिमा रहेको पोखरीको डिलको उत्तरतर्फ अवस्थित बाटो छाडेर चारजनाको घर शनिबार विदाको मौका छोपेर कार्यवाहक वडाध्यक्ष रामपरी मण्डलले करिब दुई सय जति युवाको एक समूह परिचालन गरी फलफूलसहितको बोटवृक्ष उखालेका छन् भने सो घरमा बस्दै आएकाहरुलाई घरबारविहीन बनाउँदै कुटपिट गर्दै चारजनाको घरसमेत भत्काएको स्थानीयहरुको कथन छ ।

सो क्रममा वडाध्यक्ष मण्डलले जेसीबि लगाएर घर भत्काए भने बोटवृक्ष उखाल्नका लागि पनि जेसीबि र आफ्ना आसेपासेलाई प्रयोग गरेको पीडित चौधरी परिवारको भनाइ छ । यता सो घटना देखेपछि जटहीमा सोको विरोधमा स्थानीय रोहित चौधरी अनिश्चितकालीन अनसनमा बसेका छन् । शान्ति सुरक्षाको माग गर्दै वडाध्यक्ष मण्डलको क्रियाकलापको विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कावा वडाध्यक्ष मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले बताए ।

अनसनमा बस्दै रोहित चौधरीले भने, ‘ वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफूललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरु बेमतलबमा काटेको र सोको विरोध गर्दा केही युवा परिचालन गरी कुटपिट गरेपछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु ।’ वि.सं. २०६० मा उच्च अदालत जनकपुरले सुखचन्द्र चौधरीसमेतको पक्षमा फैसला गरेको थियो । तर फैसलाको अवज्ञा गर्दै वडाध्यक्षले विना कुनै सूचना एक्कासी घरमाथि डोजर लगाएर अदालतको मानहानी गरेको देखिएको छ ।

यता नगराईन नगरपालिका मेयर विनयकुमार यादवले अदालतमा विचाराधीन रहेको मुद्दामा कुनै पनि किसिमको कामकारवाही नगर्न भनेको प्रतिक्रिया दिए । उनले आफूलाई सो घटनाबारे जानकारी नभएको समेत बताए । त्यस्तै वडाध्यक्ष मण्डललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

Comment


Related News

Latest News

Trending News