मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारसँग प्रहरी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको बताएका छन् ।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन केन्द्र मधेश प्रदेशले सर्लाहीको लालबन्दीमा आयोजना गरेको सात दिने छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री लेखीले सो कुरा बताउदै संघ सरकारले प्रहरी ऐन नबनाउदा प्रदेशका हरेक कार्य सम्पादनमा समस्या देखिएको प्रष्ट गरे । उनले संचारमाध्यमलाई वस्तुगत समाचार लेखनमा जोड दिन आग्रह गरे ।

मन्त्री लेखीले भने, “मिडियाले कसैप्रति पूर्वाग्रह भएर जे मन लाग्यो त्यही लेख्न हुँदैन्, यर्थात् के हो त्यो नै बाहिर ल्याउनुपर्छ।” मन्त्री लेखीले मिडियाले वास्तविकतामा रहेर तीन तहका सरकारको कमी, कमजोरी उजागार गर्न सक्षम भए समाजमा सुशासन कायम हुने बताए ।
लोक कल्याणकारी विज्ञापन थप गर्ने, आठवटै जिल्लामा नेपाल पत्रकार महासङ्घलाई कार्यालय व्यवस्थापन गर्न १० लाख रुपियाँ प्रदान गर्ने, महासङ्घमा आवद्ध पत्रकारको जीवन बीमा गर्ने, अग्रज तथा उत्कृष्ट पत्रकारलाई सम्मान गर्नेलगायतका कार्यक्रम आगामी बजेटमा राखिएको उनले जानकारी दिए ।
चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्ड जनकपुरधामका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डका सदस्य रामस्वागत चौधरी, सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख प्रशन्नराज कर्ण, प्रेस काउन्सिल मधेश प्रदेशका सदस्य बन्दना झा, आदिवासी जनजाति अगुवा अमिरी चौधरीलगायतले धारणा राखेका थिए ।

