२०८२ असार १०, मंगलवार ०७:०७

उच्च अदालत जनकपुर– वीरगंजले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको अधिवेशन यथास्थितिमा राख्न आदेश दिएको छ ।

मेयर बिनोद कुर्मीले आज १० गते नवौं नगरसभा आव्हान गरे पछि उपमेयर संगिता कुमारी रामले एकलौटी गर्न लागेको भनी उच्च अदालतमा दिएको लिखित उजुरीको आधारमा अदालतले अधिवेशन तत्काल रोक्का गर्न आदेश दिएको छ । उच्च अदालत जनकपुर, इजलास नं. १ का न्यायाधीश हरिप्रसाद जोशीको एकल इजलासले वृन्दावन नगरपालिका, लगायत विपक्षीहरूलाई सार्वजनिक सूचना सम्बन्धी आदेश जारी गरेको छ ।

यस सम्बन्धी १५ दिनभित्र लिखित जवाफ पेस गर्न नगरपालिका लाई आदेश दिएको छ । निवेदक संगीता कुमारी रामले दायर गरेको मुद्दामा अदालतले विपक्षी निकायले माग गरिएकै बमोजिम जानकारी नदिएको तथा त्यसबारे लिखित जानकारी वा स्पष्ट सूचना समेत नदिएको ठहर गर्दै सूचना सार्वजनिक गर्नुपर्ने आदेश दिएको छ ।

अदालतको आदेश अनुसार, वृन्दावन नगरपालिकाको उपमेयर रहेकी निवेदकले कार्यकाल, सेवा, कामकाज, सेवासुविधा, सम्पर्कसम्बन्धी जानकारी माग गरेकी थिइन् ।

यस्ता विषयहरू सूचना अधिकार ऐन, २०६४ अनुसार सूचना माग गर्न सकिने विषयमा पर्दछन् । निवेदकले वृन्दावन नगरपालिकाको कार्यालयमा सो जानकारी माग गर्दा निवेदनबारे बेवास्ता गरिएको र स्पष्ट जानकारी नदिएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

न्यायाधीश जोशीको एकल इजलासले सो विषय सूचना अधिकार ऐनको दफा ७ अनुसार सार्वजनिक गर्नुपर्ने ठहर गरेको छ। अदालतको आदेश अनुसार उक्त माग अनुरूप जानकारी निवेदकलाई नियमबमोजिम दिनुपर्ने आदेश जारी गरिएको छ । वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेल लामो समय देखि कार्यरत रही मेयर कुर्मीको मिलोमतोमा एकलौटी ढंगले नगरलाई भाँडभैलो गरेको आरोप लागेको छ।

अधिकृत भुजेल र मेयर कुर्मीकै मिलोमतोमा करोडौं रुपैयाँ अनियमितता भएको उपमेयर रामले दाबी गरेकी छिन्। प्रशासकीय अधिकृत भुजेलको कारण वृन्दावन नगरपालिकामा लामो समय देखि जनप्रतिनिधि बीच बिवाद हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News