२०८२ असार १०, मंगलवार १५:१२

जनकपुरधाम उपमहानगरपालिकाले सोमबार १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख मनोज कुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, औद्योगिकीकरण र ग्रामीण पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नीति अनुसार, कुहिने र नकुहिने फोहर छुट्याएर उर्जा र कम्पोस्ट मल उत्पादन गर्ने, त्यसलाई कृषि कार्यमा प्रयोग गरिनेछ । फोहर व्यवस्थापनका लागि जनशक्ति र प्रविधि परिचालन गरिनेछ भने छिमेकी नगरहरूसँग समन्वय गरी सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको तयारी थालिएको जनाइएको छ ।

नीति तथा कार्यक्रमा जनकपुरधामको दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा ठोस योजना लागू गरिनेछ । स्वास्थ्य क्षेत्रमा विपन्न तथा अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा, विद्यालयहरूमा स्वास्थ्य परीक्षण कक्ष, र घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

रंगभूमि मैदान र ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान, पर्यटक गाइडको कार्यविधि निर्माण लगायतका काम अगाडि बढाइनेछ । दर्ता नभएका इरिक्सालाई परिक्रमा क्षेत्रमा निषेध गरी नियमनात्मक व्यवस्था गरिने जनाइएको छ ।

विद्यालयमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापनाका साथै धुम्रपान तथा चलचित्र हेर्नेमा प्रतिबन्ध लगाइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने र प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव आयोजना गरिनेछ ।

तीन लाखसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट, समयमै कर बुझाउनेलाई महिला र पुरुष छुट छुट दिने नीति छ । कर प्रणालीलाई सहज बनाउन मोबाइल एप निर्माण गरिनेछ ।

एक वडा, एक उत्पादन तथा एक वडा, एक पशु फर्म कार्यक्रममार्फत कृषि उत्पादनमा वृद्धि गरिनेछ। उत्कृष्ट किसानलाई पुरस्कार दिइनेछ । युवा बेरोजगारलाई ५ लाखसम्म आर्थिक सहयोग, सीप विकास तालिम, र ‘विन सीप को ना जीव’ कार्यक्रम लागू गरिनेछ ।

सडक नामकरण गरी वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिने, खुला व्यायामशाला स्थापना गरिनेछ । प्लास्टिक झोला निषेध गरी वातावरण संरक्षण गरिने, विद्युतीय सवारी प्रयोगलाई प्रवद्र्धन गरिने योजना छ ।

उपमहानगरले स्थानीय सञ्चार माध्यमहरूलाई सशक्त बनाउन पत्रकार महासंघ तथा अन्य सञ्चार संस्थाहरूसँग समन्वय गरी सहयोग गरिनेछ । ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग तथा बस्ती विकास, आपूर्ति र उद्योग–व्यापारका विषयमा समेत विस्तृत योजना समावेश गरिएको छ ।

Comment


Related News

Latest News

Trending News