२०८२ असार ११, बुधबार १९:५९

भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठाएको छ । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्षयात्री एक्जियम–फो मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) का लागि प्रस्थान गरेका बीबीसीले जनाएको छ ।

यी चार अन्तरिक्षयात्री १४ दिनसम्म आईएसएसमा रहनेछन् । प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन यसअघि धेरै पटक स्थगित भएको थियो । एक्सियम–फो को चार सदस्यीय टोलीमा अमेरिका, पोल्यान्ड र हङ्गेरीका एक/एक जना छन् ।



एक्जियम–फो मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा रहेको कम्पनी एक्जियम स्पेसले अमेरिकी अन्तरिक्ष निकाय नासा र अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्ससँगको सहकार्यमा यो मिसन सञ्चालन गरिरहेको छ ।

यसअघि सन् १९८४ मा रुसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा हुनुहुन्थ्यो ।

भारतले एक्जियम–४ मिसनमा एउटा सिट किन्न ५ करोड ९० लाख अमेरिकी डलर तिरेको छ । विज्ञान विज्ञ पल्लव बागलाले एक्सियम–फो ले भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) लाई मानव अभियानमा मद्दत गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

भारतले सन् २०२७ मा पहिलो स्वदेशी मानव मिसन गगनयान अन्तरिक्षमा पठाउने लक्ष्य राखेको छ । यस्तै भारतले सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेशन स्थापना गर्ने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने महत्त्वाकाङ्क्षी योजना पनि घोषणा गरेको छ ।

Comment


Related News

Latest News

Trending News