
सप्तरीको प्रहरी प्रमुख एसपी डकेन्द्र खतिवाडा कारबाहीमा परेको तीन दिन नवित्दै निमित्त प्रमुख बनेका प्रहरी नायव उपरीक्षक(डीएसपी) जितेन्द्र कुमार बस्नेतपनि कारबाहीमा पर्ने भएको छ । एसपी खतिवाडा गाँजा तस्करसित १० लाखमा ‘सेटिंग’ मिलाएको आरोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले तानेको छ ।
एसपी तानिएको तीन नवित्दै निमित्त प्रहरी प्रमुख बनेका डीएसपी बस्नेत कारबाहीको दायरामा परेका छन् । सप्तरी जिल्ला प्रहरी परिसरमा डीएसपी बस्नेतको निवासमा एकजना प्रहरी निरीक्षक ( इन्सपेक्टर) को जन्म उत्सवमा आयोजित रात्रिकालीन भोजमा एकजना आकाश आदर्शले बलात्कारको आरोपमा सफाई पाएको दुई दिन नवित्दै त्यस भोजमा सहभागी भएका थिए ।

गत जेठ महिनाको ६ गतेको घटना भए पनि असार १० गते मात्र भिडियो बाहिरिएको थियो । फोटोमा डीएसपी बस्नेत, जन्मदिन परेका इन्सपेक्टर मनीष श्रेष्ठ र आकाश आदर्श प्रष्ट देखिन्छ । अदालतबाट सफाई पाए पनि बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेका व्यक्ति अनुसन्धान अधिकृतसँग भोजभतेर गरेर खुशियाली मनाउनु रहस्यमय भएको बताइन्छ ।
बलात्कारको आरोपमा सफाई पाएका आकाश आदर्श घटनाको अनुसन्धान अधिकृत इन्सपेक्टर श्रेष्ठ रहेका थिए । हाल उनी सरुवा भएर चितवन जिल्ला गएका छन् । जवर्जस्ती करणीको मुद्दामा सफाई पाएलगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ ।
फोटोबाट प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरीतको कार्य भएको देखिएकोले अनुसन्धान थालिएको मधेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी) उमाप्रसाद चतुर्वेदीले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरिएको बताएका छन् ।
‘अनुसन्धान टोलीले बिहीबार सप्तरी पुगेर विस्तृत छानबिन थाल्नेछ’ उनले भने, छानबिनमा कमजोरी देखिए कारबाहीका लागि सिफारिस गरिनेछ । ‘प्रहरीले मुद्दाको कुनै पक्षसँग अतिरिक्त लाभ वा सामीप्यता देखाउने कुरा स्वभाविक होइन, के उद्देश्यले त्यसो गरियो भन्ने विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिएको छु’, डीआईजी चर्तुवेदीले भने, ‘अझ अदालतमा मुद्दा विचाराधीन नै रहेका बेला त्यस्तो भेटघाट भएको छ भने त्यो झनै अशोभनीय र नीति विपरीत भएकाले विभागीय कारबाही हुन्छ ।’
डीआईजी चतुर्वेदीले छानबिन समितिले दिने प्रतिवेदन अनुसारको प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रहरी आचरण विपरीतको कार्य देखिएकोले छानबिन समिति गठन गरिएको बताएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले जवर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा रहेको डीएसपी निवासमा ‘सेलेब्रेसन’ गरेको विषयलाई ‘नोटिसमा लिएको’ बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार जवाफ दिँदै आईजीपी थापाले सो घटना आफ्नो नोटिसमा लिएको बताए । उक्त घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने बताउँदै आईजीपी थापाले समितिमा भने, ‘ मधेश प्रदेशमा कार्यरत रहेका डिआइजी साहेबलाई छानबिनका लागि हेर्नु भनेको छु । यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गर्दैछ ।’
प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले २० कात्तिक २०८१ मा राजविराज नगरपालिका– ६ का आकाश आदर्श विरुद्ध सप्तरी जिल्ला अदालतमा बलात्कार मुद्दा दायर गरेको थियो । जेठ ४ गते जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको इजलासले उनलाई सफाइ दिएको थियो । बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिन जेठ ५ गते राजविराज नगरपालिका–६ का आकाश आदर्श अनुसन्धान अधिकृत तोकिएका इन्सपेक्टर मनिष श्रेष्ठसँग देखिएका थिए ।
प्रहरी अधिकृतहरुसँगै आकाश आदर्शको फोटोहरु सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानको क्रममा आकाश आदर्शसित रकमको लेनदेन गरी मुद्दालाई कमजोर बनाएको आरोप लागेको छ । प्रहरी अनुसन्धानकै आधारमा बलात्कार मुद्दा दर्ता हुने भएकाले त्यहाँ नै प्रमाणित हुने आधारहरु नष्ट गरी कमजोर बनाइएकोले आकाश आदर्श सफाई पाएको बताइएको छ ।
अनुसन्धान अधिकृत रहेका इन्सपेक्टर श्रेष्ठ र डीएसपी बस्नेत आरोपी आकाश आदर्शसित पहिले नै मिलोमतो गरेको बताइन्छ । सप्तरी जिल्लामा यस अघि पनि एसपी र डीएसपीहरुको आर्थिक लेनेदेनको आरोप लागेपछि सरुवा भएको थियो ।