
महोत्तरीको जलेश्वर नगरपालिकामा हालै देखिएको विद्युत लाइट तथा सिसी क्यामेरा जडान प्रकरणको भुक्तानी प्रक्रियामा गम्भीर त्रुटि देखिएपछि विवाद उत्पन्न भएको छ ।
भुक्तानीका लागि तयार गरिएको प्रतिवेदनमा सही र छाप गर्न इन्कार गरेपछि इलेक्ट्रोनिक्स इञ्जिनियर सन्जु रञ्जन ठाकुरमाथि नगरपालिकाका जनप्रतिनिधिहरूद्वारा धाकधम्की र गालीगलौज गरिएको आरोप लागेको छ ।

इञ्जिनियर ठाकुरले जनाए अनुसार उनले काम सम्पन्न प्रतिवेदनमा प्राविधिक त्रुटि, आवश्यक कागजातको अभाव र गुणस्तरमा समस्या देखिएको भन्दै दस्तखत गर्न अस्वीकार गरेका थिए । तर जनप्रतिनिधिहरूले जबरजस्ती सही गराउन खोज्दै मानसिक दबाब दिइएको, अपशब्द प्रयोग गरिएको र धम्कीसमेत दिएको उनले बताए ।
सो घटनाक्रम जलेश्वर नगर कार्यपालिकाको कार्यालयमै घटेको बताइएको छ । हालसम्म नगरपालिकाले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
यता विभिन्न प्राविधिक संघसंस्थाहरूले घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि निष्पक्ष छानबिनको माग गरेका छन् ।