
मधेश प्रदेशसभाको पाँचौँ अधिवेशनअन्तर्गत १२ औं बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।
बुधबारको बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले बजेटमाथि छलफल प्रस्ताव राखेका थिए । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले बजेटप्रति आपत्ति जनाएका छन् । प्रमुख सचेतक यादवले भने, “यो बजेटले मधेशको भविष्य र दिशालाई निर्देशन गर्ने बेला रहे पनि सुधारको गति देखिएको छैन ।

बजेट नवौँ भए पनि विकासको गति अनुसारको प्रतिविम्ब देखिएन ।” उनले कृषिको अपेक्षाकृत बजेट कटौती, शिक्षामा न्यून ध्यान, र पर्यटनको उपेक्षा भएको आरोप लगाए । मुख्यमन्त्री नै छलफलमा अनुपस्थित रहेको प्रति आक्रोश व्यक्त गर्दै प्रमुख सचेतक यादवले प्रश्नसमेत गरे । उनले भने, “सरकार कतिको गम्भीर छ ? रेडबुकले देखाएको छ कि मन्त्रीहरूले मनपरी गरेका छन् ।” उनले कंक्रिट संरचनामा योजना बिना नै ठूलो रकम विनियोजन गरिएको उल्लेख गर्दै यस्तो अंहकारजन्य प्रवृत्तिको जनताले जवाफ दिने चेतावनी दिए ।
प्रदेश सांसद रमिता प्रधानले बजेट कार्यान्वयनमा सबैको साझा पहल आवश्यक रहेको बताइन् । उनले भने, “टिकाटिप्पणीभन्दा महत्वपूर्ण बजेटको प्रभावकारी कार्यान्वयन हो, इमान्दार भएर काम गरिए पक्कै परिवर्तन सम्भव छ ।” प्रदेशसभाको बैठक असार १२ गते बिहीबार दिउँसो १ बजे पुनः बस्ने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।