२०८२ असार १४, शनिबार ०७:५६

मधेश प्रदेश सरकारले हालै जारी गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम पुस्तिका (रेड बूक) मा चुरे संरक्षणबारे ठोस योजनार बजेट विनियोजित नगरे पनिमधेश प्रदेश संसदमा प्राकृतिक श्रोत तथा वातावरण एवं अर्थ तथा योजना समितिका आधा दर्जन सांसदहरु शुक्रबार चुरेको काखमा बसेको गणेशमान–चारनाथनगरपालिका– १ को तीन तल्ले पुगेर चुरेवासीसंग छलफल गरेका छन् ।

चुरेवासीको समस्या सुनेका छन् । चुरे संरक्षणका उपायबारे विमर्श गरेका छन्, अनि चुरेवासीले सुनाएका गुनासाहरुको पोको मधेश प्रदेश सभामा विसाउने वाचा गरेर जनकपुरधाम फर्केका छन् । अचेल जनता जनार्दनको लागि बनाइने योजनाहरुको रुपरेखा पाँचतारे होटलको एयर कण्डिशन रुममा तयार पारिन्छ ।

सुकिला– मुकिला विषयविज्ञ, सरकारी अधिकारी, जनप्रतिनिधि अनि कोट पेन्टमा सजिएका जनता जनार्दनका प्रतिनिधिहरु एयर कण्डिशन कोठामा बसेर अमेरिका, जापान, इजराइल लगायतका विकसित देशहरुको मोडल कपिपेष्ट गरेर योजना बनाउँछन् । जो ग्राउण्ड जीरोसम्म पुग्दापुग्दै बैलुनको हावा जस्तै फुस्स हुन्छ ।

जनताको समस्या जनतामा झपुगेर बुझ्न सकिन्छ । समस्याको कारण बुझ्न सकेमात्र समाधान खोज्न सकिन्छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यू.एस.आई.डी.) को संसद सहयोग परियोजनाको सहयोगमा पिपुल प्रमोट सेन्टरले शुक्रबार आयोजना गरेको ‘चुरे संरक्षण, वातावरण तथाजल संरक्षण’ सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन मधेश प्रदेश सभाको प्राकृतिक श्रोत तथा वातावरण समितिकी सभापति शारदा दास पहाडी, सदस्यहरु इन्दु कुमारी साह, नुरुल नेसा, ममता देवी मण्डल, संजीलाकुमारी यादव, अर्थ तथा योजना समितिकी सभापति अनिताकुमारी साह तथा प्रदेश सांसदहरु साहिदा खातुन र हसिना खातुन तीनतल्ले पुगेकी थिइन् ।

उनीहरुसंगै यू.एस.आइ.डी. संसदीय सहयोग परियोजनाका प्रमुख बिट्टुबाबू श्रीवास्तव, चुरे सम्बन्धीविषय विज्ञ रोहित यादव तथापि.पी.सी.का प्रमुख कमलेश मण्डल तथा गणेशमान चारनाथ नपा वडा नम्बर १ का अध्यक्ष श्याम आलेलगायत सहभागी थिए । स्थानीयवासी जनप्रतिनिधिलाई आत्मीय स्वागत त गरेका थिए ।

तर आफूहरुले भोग्दै आएका समस्याबारे खुलेर गुनासा पनि गरेका थिए । जनता र जनप्रतिनिधिबीचको यो दोहरी हेर्न र सुन्न लायक थियो । पूर्व–पश्चिम राजमार्गको वीरेन्द्र बाजारबाट मुस्किलले ५ किलोमिटर उत्तरमा चुरे पर्वत श्रृंखलाको काखमा बसेको सानो गाउँ हो–तीनतल्ले । जहाँ मगर, तमांग, राई, क्षेत्री र सुनार जातिको बसोवास छ ।

एक विदेशी संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्माण गर्न लागेको खानेपानी योजनाको स्थलगत निरीक्षण गर्न करिब २० वर्ष अघि म त्यो गाउँ पुगेको थिए । त्यतिबेला यो गाउँमा मुस्किलले ५० घर धूरीको बसोवास थियो । अचेल गाउँमा झण्डै २ सय घर परिवारको बसोवास छ । २० वर्ष अघि यो गाउँ खानेपानीको चरम संकटबाट गुज्रि रहेको थियो । खाने पानीको अभावमा गाउँ नै विस्थापित हुने अवस्था थियो । रेडक्रस सोसाइटीको त्यो योजना सफल हुन सकेन ।

पछि अर्को विदेशी संस्थाको सहयोगमा पिपुल प्रमोट सेन्टरले एक दशक अघि निर्माण गरेको खाने पानी योजना सफल भयो । अचेल गाउँको आकार र जनसंख्या बढे पनि एक घर एक नल योजना अन्तर्गत गाउँका सम्पूर्ण घरमा खानेपानी जडान भएको छ । खानेपानीको समस्यालगभग टरेको छ । तर नुहाउन, मवेशीलाई खुवाउन तथा खेतवारी पटाउन अहिले पनि पानीको आभाव छ ।

गाउँका कसैसंग पनि घर जग्गाको अभिलेख छैन । आज २० वर्ष पछि पुनः त्यो गाउँमा पाइला टेक्ने अवसर जुरेको थियो । वीरेन्द्र बाजार–तीनतले खण्डको सडक अझै पनि जीर्ण छ । नदीमा पूल बन्न सकेको छैन । तर गाउँ छिर्ने वित्तिकै ठुलो चर्च भने अवश्य देखिन्छ । वस्ती विस्तार भएको छ । पक्की घरहरु बनेका छन् ।

विद्यालय बनेको छ, तर विद्यालयको शौचालयमा पानीको आभाव छ । तीनतल्ले गाउँको पूर्वबाट चारनाथ र पश्चिमबाट करिया नदी बग्छ । दुबै नदीमा पानीको स्वतःस्फूर्त मुहान छ । दुबै नदीको मुहानको पानी सदुपयोग गरेर तीनतल्ले मात्र होइन, वीरेन्द्र बजारसम्मलाई वर्षभरि पानी खुवाउन सकिन्छ, तर प्रदेश सरकारको लागि यो प्राथमिकताको विषय होइन ।

यसमा दुई मत होइन कि चुरेको फेदमा बसेका अधिकांश नववस्तीहरु चुरे जंगल फरानी गरेर बसाइएको छ । पूर्व–पश्चिम राजमार्गको निर्माणसंगै चुरे जंगल फरानी तथा वस्ती बसाउने क्रम बढ्यो । जो अद्यावधि जारी छ । अचेल चुरे क्षेत्रमा साखु, सिसौ, बाँस, बावियो आदि देख्न गाह्रो छ । जंगलमा बस्ती बसेपछि जंगली जनावरहरु तराई छिरेका छन् ।

चुरे उजाड भएपछि तराईका नदीहरुमा बालुवा, गिट्टी थुप्रिदै छ । तराईमा खानेपानीको आभाव हुन थालेको छ । चुरे मधेशको मात्र होइन, नेपालकै हृदय हो । यसलाई जोगाउन सकिएन भने मधेशलाई मरुभूमि बनाउनबाट जोगाउन सकिन्न ।

Comment


Related News