
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेमा पुनः जोडिएको घोषणा गरेकी छिन्।
शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक जिम्मेवारीबाट मुक्त भएपछि फेरि एमालेमै जोडिएको बताइन्।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीको भनाइ छ, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’
उनले आफ्नो कुनै विशेष महत्वकाकांक्षा नभएको भन्दै सबैको सधैँभरि माया पाउने विश्वास समेत व्यक्त गरिन्। ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन,’ भण्डारीको भनाइ छ, ‘समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ। सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ।’