धनुषाको हँसपुर नगरपालिकामा परम्परागत रितिरिवाज अनुसार छोरीको विवाह नगरेको भन्दै एक परिवारलाई माइन्जनले भातपानीसमेत निषेध गरेको छ ।
जिल्लाको हसपुर नगरपालिकास्थित रमनगरामा शकुन्तला देवी मुखियाकी छोरी अञ्जली मुखियाले छिमेकी सन्तु मुखियासंग गुपचुप रुपमा प्रेम विवाह गरेको भन्दै विन मुखिया समाजका अगुवा माइन्जन उद् गार मुखियाले जरिवानासहित भोजभतेर गरेर मात्रै छोरीको विवाह मान्य हुने वा नहुने विषयको फैसला हुने सुनाएको पीडित शकुन्तला देवीले आरोप लगाइन् । फागुन महिनामा शिवरात्रिको दिन छोरीले विवाह गरेको गर्दा आफूलाई समेत जानकारी नदिएकोमा दुःखी रहँदा नै माइन्जनले थप पीडा दिएको पीडित शकुन्तलाले बताइन् ।
पीडित शकुन्तलाले भनिन्, ‘ बिन मुखिया समाजका माइन्जन अध्यक्ष उद्गार मुखिया र अगुवा शिवु मुखियाको समूहले आफूलाई गाउँ समाजमा छिमेकीहरुसंग समेत कसैसंग बोलचाल गर्न, कसैको घरमा आवतजावत गर्न, एकअर्कासंग सहयोग लिन वा गर्नमा समेत प्रतिबन्ध लगाएको छ भने कुनै पनि चापाकलको पानी लिनबाट समेत आफूलाई निषेध गर्दा बालबच्चालाई पोखरीको पानी खुवाउनु परेको छ ।’ उनले आफूसंग कोही बोलचाल गर्दा ५ हजार ५५१ जरीवाना समेत तोकेको बताइन् ।
शकुन्तलाको श्रीमान वैदेशिक रोजगारमा छन् । घरमा ७५ वर्षीय ससुरा सुकन मुखिया प्रायः अस्वस्थ्य रहने गरेका छन् भने दुई छोरा पनि छन् । समाजमा माइन्जनले प्रतिबन्ध तथा निषेध गरेपछि घरमा खानपानबाट वञ्चित हुँदा पोखरीको पानी खानु परेको अवस्था छ । पीडित शकुन्तला राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामका प्रमुख बुद्धनारायण सहनी कहाँ पनि उजुरी दिएका छन् ।
कार्यालय प्रमुख सहनीले कानुनको पालना गर्नका गरी शान्ति सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई ध्यानाकर्षण गराएका थिए । उनले यस विषयमा स्थलगत अनुगमन गरी न्यायका लागि पहलकदमी लिने बताए । पीडित शकुन्तलाले धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक बरुण सिंहलाई समेत आफ्नो पीडा सुनाउँदै न्यायका लागि गुहार लगाइन् ।
यता यस घटनाबारे हँसपुर नगरपालिकाका मेयर प्रदीप यादवले सो घटनाबारे बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । पीडित शकुन्तलाले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी छन् ।
सो घटनामा आरोपितलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर सजाय ऐन २०६८ को दफा २(१) अनुसार कसैले पनि जातिय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने वा गराउन हुदैन भनि भएको कानून व्यवस्थाको प्रतिकूल विपक्षी ऐ. ऐनको दफा ४ बमोजिमको कसूर गरेकोले ऐ. ऐनको दफा ५ बमोजिम मुद्दा लाग्न सक्ने व्यवस्था छ ।



