२०८२ असार १६, सोमबार ०६:५३

सिरहाको लहान नगरपालिकामा पटकपटक मेयर र उपमेयरबीचमा मतभिन्नताका घटनाहरु चुलिँदै गएको सन्दर्भमा उपमेयरविरुद्ध मेयर समक्ष एक सुन व्यवसायीले उजुरी दिएका छन् ।

सुन व्यवसायी राजाराम सारडाले उपमेयर रामचलितर महतोले सुन किनेको भन्दै सो वापतको रकम भुक्तानीका लागि मेयरलाई गुहारेका छन् । लहान नगरपालिका– ७ स्थित विकास ट्रेडर्सका सञ्चालक सारडाले उपमेयर महतोले किनेको सुनबापतको रकम भुक्तानी नगरेको भन्दै मेयर महेश चौधरीसमक्ष उजुरी दिएका छन् ।



मेयर चौधरीले निवेदन बोर्ड बैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश गरेका छन् । उपमेयर महतोले २०८१ साउन ३० मा दुई लाख ५१ हजार ४३० रुपैयाँ बराबरको डेढ तोला सुन किनेको विक्रेता सारडाले निवेदनमा उल्लेख गरेका छन् । सुनवापतको रकम ४÷५ दिनभित्रै तिर्ने भनेको र हालसम्म नतिरेकाले सोबापतको रकम उपमेयर महतोबाट उपलब्ध गराइदिन सुन व्यवसायी सारडाले मेयर चौधरीसँग अनुरोध गरेका छन् ।

उपमेयर महतोले भने विकास ट्रेडर्सबाट आफूले सुन नकिनेको दाबी गरेका छन् । उनले आफूलाई जनतामा बदनाम गराउने नियतले यस्तो हर्कत गरेको भन्दै आक्रोशित भए । उपमेयर महतोले भने, ‘ विकाश ट्रेडर्स विकास सारडाको हो । मेयरकै योजनाअनुरुप मलाई बदनाम गर्न निवेदन दिन लगाएको हुनसक्छ । मैले सुन किनेकै छैन । यदि किनेको छु भने मेरो हस्ताक्षरसहितको बिल सार्वजनिक गरियोस् ।’

मेयर चौधरी कांग्रेसबाट निर्वाचित भएका छन् भने उपमेयर महतो जसपा नेपालबाट निर्वाचित भएका छन् । जसकारण उनीहरुबीच मतभिन्नता रहँदै आएको छ । एकले अर्काविरुद्ध विवाद सृजना गरिरहँदा यहाँका स्थानीय नागरिक अन्योलमा पर्दै आएका छन् । सोहीक्रममा उपमेयर महतोको ‘सुन खरिद काण्ड’ सार्वजनिक भएको छ ।

Comment


Related News

Latest News

Trending News