२०८२ असार १७, मंगलवार ०६:५८

प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अहिले सो घटना थप जटिल बन्दै गएको देखिएको छ । बालकको उपचारको क्रममा चिकित्सकको गम्भीर लापरबाही गरेको भन्दै मृतक बालकका आफन्तजन अस्पतालमा तोडफोड गर्दै आन्दोलनरत्त छन् भने अर्कोतर्फ सोमबारदेखि अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीसमेत आन्दोलनमा उत्रिएका छन् ।

प्रादेशिक अस्पताल सिरहामा आइतबार दिउँसो उपचाररत्त सिरहा नगरपालिका– ६ का १२ वर्षीय राजन रामको मृत्यु भएको थियो । उनी आइतबार विहान अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परीक्षणका क्रममा बालकको शरीरमा रगतको मात्रा न्यून देखिएको थियो । तर कुन चिकित्सकले ती बालकको परीक्षण गरेका थिए भन्ने कुरा अहिले रहस्यको विषय बनेको छ ।



बालकको चेकजाँच कुन डाक्टरले गरेका थिए भन्नेमै अहिले अन्योल देखिएको छ । बालक राजन अस्पताल भर्ना भएको इमर्जेन्सी कक्षमा रहेको पूर्जा (प्रेस्किप्सन) मा डा. सुदेशकुमार यादवको नाम उल्लेख भएको पाइएको छ । तर उनको उपचार डा. सुदेशले भने नगरेको तथ्य देखिएको छ । उनले अस्पतालमा बालकको उपचार भएको बेला आफू अस्पतालमा नरहेको भन्दै आपत्ति जनाएका छन् ।

चिकित्सक सुदेशले भने, ‘अस्पतालमा ड्यूटी मेरै थियो । तर म तालिमका लागि बाहिर गएको थिए । ड्यूटीको आधारमा इमर्जेन्सी पूर्जामा मेरो नाम राखेको हुनसक्छ ।’ तालिमबारे अस्पताललाई आफूले जानकारी गराएर नै गएको उनको दाबी छ । प्रादेशिक अस्पताल सिरहाका अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादवले जनाए अनुसार बालकको परीक्षण डा. नितिश कर्णले गरेको बताए । उनले भने, ‘डा. सुदेश अस्पताल बाहिर रहेको उनी तालिममा सहभागी हुन गएका थिए । उनको नाम राखेर पूर्जा काटेको हुनसक्छ ।’ भन्दै उनले अनुमान गरे । एउटा डाक्टरको नाममा अर्कोले परीक्षण गरेर औषधि लेख्न मिल्छ ? भन्ने जिज्ञासामा अध्यक्ष यादव भने, ‘उपचार गरेका डा. नितिशले पूर्जामा आफ्नो नाम लेखेको होला ।’

यद्यपि अध्यक्ष यादवको दाबी अनुसार उपचार गरेका डा. नितिशको नाम भने पूर्जामा कतै उल्लेख छैन । पूर्जाको तल्लो भागमा हस्ताक्षर कसको हो भन्ने खुल्दैन । सिरहाका प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी वीरेन्द्र पासवानले मृतक बालकको इमर्जेन्सी पूर्जामा उल्लेख गरिएका डा. सुदेश अनुपस्थित रहेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिने बताए । उनले भने, ‘पूर्जामा कुन डाक्टरको नाम छ ? उपचार कसले गरे ? भन्ने कुरा थाहा भएन । तर उजुरी परेपछि अनुसन्धान हुन्छ ।’

मृतक बालकको शव भने पोष्टमार्टम घरमै रहेको छ । पीडित परिवारजनले लापरबाही गर्ने डाक्टरलाई कारबाही, अस्पतालको सेवामा सुधार गर्नुपर्ने र मृतक बालकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन् । डिएसपी पासवानले मृतकका परिवारले जाहेरी नदिएकाले पोष्टमार्टम नभएको प्रस्ट पारे ।

उपचारको क्रममा बालकको मृत्यु भएपछि उनका परिवार, आफन्त र गाउँले अस्पतालमा तोडफोडको प्रयास समेत गरेका थिए । सो क्रममा सिरहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजीत गोइतसहित ७ जनालाई सिरहा प्रहरीले आइतबार साँझमा पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

प्रहरी प्रवक्ता डिएसपी पासवानले अस्पताल प्रशासन र पीडित पक्षबीच आपसी सहमति बनेपछि मात्र पक्राउ परेकाहरुलाई छाड्ने बताए । यता सोही घटनालाई लिएर प्रादेशिक अस्पताल सिराहाको आकस्मिकबाहेक सबै सेवाहरु चिकित्सक र कर्मचारीहरुले ठप्प पारेका छन् । उनीहरुले शान्ति सुरक्षा र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै बहिरंग (ओपिडी) सेवा ठप्प पारेका छन् ।

चिकित्सक तथा कर्मचारीहरुले बालक मृतक प्रकरणलाई लिएर पीडित परिवार, आफन्त र वडाध्यक्षलगायत इन्द्रजित यादवले चिकित्सकमाथि गाली–गलौज, हुलहुज्जत गरेको भन्दै सेवा ठप्प पारेका छन् । चिकित्सकहरूले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आक्रमण गर्ने, उपद्रव मच्चाउनेजस्ता कार्यले चिकित्सकहरू असुरक्षित भएको भन्दै शान्तिसुरक्षा र कारबाहीको माग गरेका छन् । उनीहरुले जारी गरिएको विज्ञप्तिमा अस्पतालमा कार्यालय चिकित्सक र कर्मचारीहरूले हस्ताक्षर गरेका छन् ।

ओपिडी सेवा ठप्प पारेपछि विभिन्न गाउँबाट उपचार गराउन आएकाहरू प्रभावित बनेका छन् । चिकित्सक बस्ने कार्यकक्ष बन्द गरिएको जनाइएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले ओपिडी सेवा ठप्प पारिएकोबारेमा आफूलाई जानकारी नभएको बताए । चिकित्सकहरूले आन्दोलन गरेकोबारे आफूलाई कुनै जानकारी नभएको भन्दै प्रजिअ अर्यालले अस्पतालको सेवा ठप्पबारे बुझेर बताउने प्रतिक्रिया दिएका छन् ।

Comment


Related News

Latest News

Trending News