२०८२ असार १७, मंगलवार ०७:०३

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई भेटी औपचारिक स्मरणपत्र बुझाएको छ ।

सो स्मरणपत्र बुझ्दै विश्वविद्यालयका उपकुलपति (भीसी) ले राजनीतिक दबाबका कारण भवन निर्माण प्रक्रिया अघि नबढेको जानकारी गराए । उनले सबै प्रक्रिया पूरा भए पनि निर्माणमा अवरोध राजनीतिक हस्तक्षेपबाट उत्पन्न भएको स्वीकार गरे । यद्यपि, त्यो दबाब कुन पार्टी वा नेताबाट आएको हो भन्ने खुलासा गर्न उनले चाहेनन् ।

वि.सं. २०५३ सालमा नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको अवधारणा प्रस्ताव गरेका थिए । त्यसबेला तत्कालीन जिल्ला विकास समिति सभापति राम सरोज यादवको अध्यक्षतामा परिषद् बैठकबाट निर्णय पारित गरिएको थियो । त्यस निर्णयअनुसार धनुषाका सबै तत्कालीन गाविसले १ लाखका दरले र महोत्तरीका सबै स्थानीय निकायले ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

हाल विश्वविद्यालयलाई नगराईन नगरपालिका–४ फुलगामास्थित मणियारी चौरीमा करिब १३ बिघा जग्गा उपलब्ध गराइएको भए पनि तीन दशक बितिसक्दा पनि भवन निर्माण हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

शिक्षा जस्तो पवित्र क्षेत्रलाई राजनीतिक विवादमा तानिँदै आएकोप्रति प्रतिनिधिमण्डलले आपत्ति जनाउँदै छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाउन विश्वविद्यालय र प्रदेश सरकारलाई आग्रह गरेका छन् । साथै, स्मरणपत्रमार्फत स्थानीय जनताको भावनालाई सम्मान गर्दै विश्वविद्यालयको दीर्घकालीन स्थायित्वका लागि आवश्यक निर्णय लिन पनि जोड दिए ।

प्रतिनिधिमण्डलमा पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नगराईन नगरपालिकाका मेयर बिनय यादव, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ७ का सभापति श्याम साह, विद्यार्थी नेता सुजित यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News