सहकारी संघ संस्था सञ्चालक पदाधिकारी तथा कर्मचारीहरूलाई लक्षित गर्दै जनकपुरधाममा एक दिने “सम्पत्ति शुद्धिकरण सम्बन्धी सचेतना गोष्ठी” सम्पन्न भएको छ ।
सोमबार भएको गोष्ठीमा सहकारी प्रणालीमा पारदर्शिता, वित्तीय उत्तरदायित्व र सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुनी पक्षमा जानकारी प्रदान गरिएको छ ।
सो क्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य श्री नथुनी यादवले सहकारीहरूलाई पारदर्शी, विश्वसनीय र कानुनी रूपमा दुरुस्त बनाउने प्रयासमा यस्ता कार्यक्रम सहयोगी हुने धारणा राख्नुभयो । “सहकारी संस्थाहरूले अब पुरानो लयमा मात्र सीमित भएर हुँदैन, कानुनी मार्गदर्शन र आन्तरिक शुद्धताको अभ्यास अनिवार्य छ,“ उनले भने ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव नारायण यादवले सहकारी क्षेत्रमा देखिएको अनियमितता नियन्त्रण गर्न ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी चेतना विस्तार गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। “वित्तीय प्रणालीमा पारदर्शिता कायम राख्न सहकारीहरूले थप सजग हुनुपर्छ । यो विषयलाई हल्का रुपमा लिने समय अब सकिएको छ,“उनले भने ।
कार्यक्रममा सहकारी विभागका उपनियन्त्रक ससी लम्सालले सहकारी क्षेत्रको विकासको मूल आधार नै वित्तीय अनुशासन र जवाफदेहितामा रहेको भन्दै यस्ता कार्यक्रमले नीति पालनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी संस्थाहरू जनताको धन र विश्वाससँग जोडिएका संस्था हुन्। त्यसैले जिम्मेवार, नियमनमा आधारित र पारदर्शी कार्यशैली आवश्यक छ,“उनले भने ।
कार्यक्रममा जिल्ला तथा स्थानीय तहमा कार्यरत सहकारी संघ–संस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू, सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले प्रशिक्षणबाट सहकारीको आन्तरिक सुधार, कारोवारको पारदर्शिता तथा कानुनी प्रक्रिया बुझ्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।



