नेकपा (एमाले) नेतृ तथा पूर्वमन्त्री जुली कुमारी महतोले जनकपुरधामको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारसहित सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–५ मा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै नेतृ महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य र शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिने बताइन्। उनले मिथिला मध्यमा परिक्रमा, मठमन्दिर तथा ऐतिहासिक पोखरीहरूको संरक्षण र प्रवर्द्धन गरेर धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने उल्लेख गरिन्। साथै, आधुनिक कलेज र विश्वविद्यालयको विकासमार्फत जनकपुरधामलाई शैक्षिक हबको रूपमा अगाडि बढाउन सकिने धारणा राखिन्।
महतोले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय अहिलेसम्म भाडाको घरबाट सञ्चालन भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको दीर्घकालीन संरचनात्मक विकास आवश्यक रहेको बताइन्।
कार्यक्रममा जनकपुरधामका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहले स्थानीय तहका जनप्रतिनिधिहरूले सामाजिक कार्यमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै ४० प्रतिशत बजेट फ्रिज हुनु गम्भीर विषय भएको बताए। उनले बजेट कार्यान्वयनमा कमजोरी देखाउने जनप्रतिनिधिहरूलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।
जनकपुरधाम उपमहानगरपालिका–५ का वडाध्यक्ष बेचन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीन लाख बराबरको मूल्यमा ४५ जना फरक क्षमता भएका व्यक्तिहरूलाई स्ट्यान्ड फ्यान तथा पाँच लाख बराबरको मूल्यमा १३८ जना ज्येष्ठ नागरिकलाई टेबल फ्यान हस्तान्तरण गर्दै सम्मान गरिएको थियो। वडाध्यक्ष साहले आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।



