
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बुधबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
बुधबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
राति देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।