नेपाली कांग्रेसले प्रदेश कार्यसमितिलाई बेवास्ता सांगठनिक संरचना नै भताभुंग हुने अवस्थामा पुगेको प्रदेशका सभापतिहरूले गुनासो गरेका छन् ।
संघीय संरचनाअनुसार पार्टी केन्द्रले आफूहरूलाई नसुनेको, प्रदेश र स्थानीय तहले नटेरेको भन्दै उनीहरूले कांग्रेसको केन्द्रीय समितिको बैठकमा गुनासो गरेका थिए । पार्टीले प्रदेश कार्यसमितिलाई प्रस्ट भूमिका नदिँदा र वरीयता समेत नतोक्दा आफूहरू निरीह बन्नुपरेको गुनासो उनीहरूले गरेका छन् । सो क्रममा मधेश प्रदेशका सभापति कृष्ण यादवले चुरे संरक्षणको नाममा बगेर आएको गिटी, ढुंगा र बालुवाको सही प्रयोग गर्न नदिएकोमा असन्तुष्टि जनाए ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सभापति यादवले भने ‘मधेशमा अरू प्रदेशको जस्तो प्राकृतिक स्रोत–साधन छैन । प्रकृतिले दिएको त्यही एउटा चुरे क्षेत्रमा पनि नियम कानूनले बाँधिएको छ,’ यादवले भने, ‘चुरेबाट बगेको बालुवा, गिटी र ढुंगाले मान्छेको घर, खेत, बारीमा बाढी पसेका छन् । पुल पुरिएका छन् । नदीमा थेग्रिँदा सतह बढेको छ । तर, नियमन गरेर प्रयोग गर्न पाइएको छैन ।’
प्रदेशमा बजेट बनाउँदा कृषिलाई प्राथमिकता दिए पनि बजेटको अभाव रहेको उनको भनाइ थियो । त्यस्तै केन्द्रीय समितिको बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, लुम्बिनीका सभापति अमरसिंह पुन र बागमतीका सभापति इन्द्र बानियाँले पार्टीले आफूहरूलाई पेन्डुलमजस्तो बनाएको टिप्पणी गरे ।
केन्द्रले अधिकार नदिने, प्रदेशका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले नटेर्ने भन्दै उनीहरूले पार्टी बैठकमा गुनासैगुनासो गरेका छन् । सो बैठकमा सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले संविधानले प्रदेशलाई दिएको महत्वका आधारमा पार्टीले पनि प्रादेशिक संरचना बनाएको बताए । तर, अभ्यासमा हदैसम्मको कमजोरी गरेको आरोप उनले लगाए । क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको बेवास्ता प्रदेशलाई हेपिएको परिणाम भएको उनको भनाइ थियो ।
‘क्रियाशील सदस्यताको टोटल आँकडा आयो भने लाज लाग्ने स्थिति छ । नवीकरण हुन सकेको छैन । किन भएन सोचेका छैनौं । भनेका पनि छैनौं । पूरा विवरण आउँदा निरीह हुने अवस्था छ,’ बलायरले भने, ‘सदस्यता नवीकरणमा पार्टीको केन्द्र प्रदेश कार्यसमितिसँग जोडिएन भने कसले निगरानी गर्ने ? केन्द्रले गर्न सक्छ ? सक्दैन । त्यहाँ काम गर्ने हामी हौं ।
हामीसँग आवश्यक समन्वय गरियोस् ।’ प्रदेशका सभापतिलाई मर्यादाको विषय तोक्न पनि उनले माग गरे । भ्रातृ संस्थालाई महाधिवेशन गर भनेर पार नलाग्ने भन्दै उनले सबैलाई भंग गर्न सुझाए । पद ओगट्ने तर काम गर्ने प्रवृत्ति हामी भएको भन्दै उनले पदाधिकारीदेखि कार्यसमिति जम्बो नबनाउन पनि आग्रह गरे । ‘कांग्रेसमा कार्यसमिति २ सयदेखि ५ सयसम्मको किन आवश्यक प¥यो ? ५१ जनाको कार्यसमिति बनाऊँ । पदाधिकारीको पनि धेरै आवश्यकता छैन ।
पद मात्रै लिने काम नगर्ने, बरु झगडा पर्ने स्थिति मात्रै छ,’ बलायरले भने, ‘म त साधारण सदस्य भएर बस्न तयार छु । कांग्रेसमा सम्पूर्ण जीवन व्यतीत गरेकाले पदाधिकारी भएर बस्ने तर, चुनाव नजित्ने स्थिति छ ।’ अरू देश र भारतको जनसम्पर्कमा समिति फरक रहेका उनको भनाइ छ । छिमेकी भारतको जनसम्पर्क समितिमा धेरै मतदाता भएको उनले बताए । ‘भारत र अरु देशको जनसम्पर्क समितिमा फरक छ । भारतका रहेका नेपाली नजिक भएको हुनाले प्रत्यक्ष मतदाता पनि हुन्,’ बलायरले भने, ‘उनीहरूको मनोभावना बुझौं । अमुक पार्टीले भारत पुगेर कार्यक्रम गरे । हामी कहाँ छौं ? स्वतन्त्रको नाममा छाडातन्त्र कहिलेसम्म सहने ? दलीय मर्यादा पनि हुन्छ होला नि,’ उनले भने, ‘पार्टीका गतिविधिदेखि बजेट निर्माणसम्म आफूखुशी भएको छ । यसलाई पार्टीले नियन्त्रण गरोस् ।’
बागमतीमा आफ्नो पार्टीको सरकारमा भए पनि कांग्रेस र एमालेबीच नै विमति रहेको बताए । ‘मुख्यमन्त्री र अर्थमन्त्रीले साढे ५ अरब सिधै अर्थमन्त्रालयबाट इन्ट्री गरे । बजेटमा कांग्रेस– एमालेबीच विमति छ । बजेट पास गर्न समस्या छ,’ उनले भने, ‘अराजक ढंगले पार्टीलाई कमजोर बनाउन दिनुहुँदैन ।
यसमा भएको कमजोरीमा प्रदेश नेतृत्व जिम्मेवार हुँदैन । यसले बजेट पास गर्न समस्या हुन्छ । अराजकता छाएको छ ।’ पार्टी केन्द्रले प्रदेशलाई बेवास्ता गर्दा क्रियाशील सदस्यता नवीकरणमा प्रगति नभएको उनको भनाइ थियो । ‘पार्टीको प्रदेश संरचना बनेपछि प्रदेशभरिको क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ थप्नेबारे उसैलाई समन्वय गर्न दिनुपथ्र्यो, तर भएन ।
जिल्लामा पुरानो नवीकरणको आएको छैन, नयाँ गएको छ । प्रभावकारी ढंगले प्रदेशलाई काम गर्न दिए केन्द्रलाई सहज हुन्छ,’ उनले भने, ‘हामीले अधिकार मात्रै मागेका होइनौं, काम र समन्वय मागेका हौं । केन्द्र नीति हो । प्रदेश काम हो । स्थानीय विकासमा यसरी नै समन्वय गरौं ।’ प्रदेशलाई केन्द्रले सधैं बेवास्ता गरेको भन्दै उनले गुनासो गरे । ‘प्रदेश सभापतिलाई बोलाएर कहिल्यै छलफल गर्नुभएको छ ? केन्द्रको कामको बोझ घट्ने कुरामा पनि किन बेवास्ता


