२०८२ असार १९, बिहीबार ०८:०१

यातायात व्यवस्था कार्यालय जनकपुरका इन्जिनियर रामानन्द साहमाथि घुस मागे गरेको आरोप लगाउँदै आवश्यक छानबिनसहित कडा कारबाहीको लागि जनकपुर एम्बुलेन्स चालक संघले माग गरेको छ ।

सो संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाहका क्रममा इन्जिनियर साहले गैरकानुनी रकम मागेको दाबी गरेको छ । जारी गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार असार १६ गते सोमबार चालक संघका सदस्य महाशंकर ठाकुरले एम्बुलेन्सको जाँचपास तथा प्रदूषण परीक्षण सम्बन्धी जानकारी लिन यातायात कार्यालय पुगेका थिए ।



प्रारम्भिक रूपमा ३०० रुपैयाँ राजस्व तिर्न भनिए पनि त्यसपछि इन्जिनियर साहले एक हजार रुपैयाँ मागेको र सेवाग्राहीले ७०० रुपैयाँ बुझाएपछि मात्र प्रक्रिया अघि बढाइएको जनाइएको छ । जाँचपास प्रक्रियामा संलग्न एक कर्मचारीले पैसा पुगेन भन्दै सेवा रोक्दा सेवाग्राहीसँग भनाभन भएको र त्यसको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भइसकेको छ ।

संघले आरोप लगाउँदै भनेको छ, ‘कार्यालय प्रमुखले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्नुको साटो भ्रष्टाचारमा संलग्न इन्जिनियरको मनोबल बढाउने काम गरेका छन् । यो कानुनीरूपमा अस्वीकार्य छ ।’ एम्बुलेन्स चालक संघले इन्जिनियर साहमाथि विगतदेखि नै सेवाग्राहीलाई पटक–पटक अनावश्यक दबाब दिँदै जाँचपासका नाममा ५ हजारसम्म घुस लिएको गुनासो आइरहेको उल्लेख गरेको छ ।

संघले प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला निकायहरूलाई तत्काल अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News