२०८२ असार १९, बिहीबार ०८:०७

महोत्तरीको जलेश्वर नगरपालिकाले गैरकानुनी रूपमा सरकारी जग्गा मिचेर बाइपास सडक निर्माण गरिएको छ । जलेश्वर नगरपालिकाले जलेश्वर–जनकपुरधाम सडकखण्डको सिँचाइ कार्यालय नजिकैबाट जलेश्वर नगरपालिकाको कार्यालयसम्म (जलेश्वर– बर्दीबास, जलेश्वर–सम्सी सडकखण्ड) जोड्ने गरी बाइपास सडक निर्माण गरेको छ ।

जलेश्वर नगरपालिकाको पूर्वनगर प्रमुख रामशंकर मिश्रले चार वर्षअगाडि निर्माण सुरु गरेको बाइपास सडकको दक्षिणबाट फेरि वर्तमान नगर प्रमुख सुरेश साह सोनारले थालनी गरेका थिए । जलेश्वर नगरपालिकाले निर्माण गरिरहेको बाइपास सडक कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरको जग्गा रहेको खुलेको छ ।

सो कार्यालयका निमित्त शाखा प्रमुख वेचनकुमार साहले जलेश्वर नगरपालिकाले सरकारी जग्गामा गैरकानुनी रूपमा बाटो बनाइरहेको बताए । उनले जग्गालाई व्यवस्थित गर्न बनाइएको पर्खालसमेत भत्काएर नगरपालिकाले आफूखुसी सडक बनाइरहेको भन्दै कार्यालयको जग्गाभित्र पर्ने गरी सडक निर्माण नगर्न नगरपालिकालाई पत्राचारसमेत गरिएको बताए । उनले नगरपालिकाले निर्माण गरिरहेको बाइपास सडकमा कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयको स्वामित्वमा रहेको ११ वटा कित्ताको जग्गा परिरहेको बताए ।

निमित्त शाखा अधिकृत साहले भने, “सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा नगरपालिकाले क्षति हुने गरी सडक बनाइरहेको जानकारी प्राप्त भएपछि हामीले स्थलगत रूपमा अवलोकन गरेका छौँ । कृषि सामग्री कम्पनी लिमिटेडको जलेश्वर नगरपालिका–९ को कित्ता नं. २५५, २५६, २५७, २६०, २६४, २६५, २६६, २६७, ४९५, ५७७ र ५७९ मा सडक निर्माण भएको छ ।” उनले कम्पाउन्ड वाल नै भत्काएर नगरपालिकाले सडक निर्माण गरिरहेको बताउँदै यस विषयमा आफूले सहायक प्रमुख जिल्ला अधिकारीसहित नगरपालिकालाई समेत जानकारी गराइसकेको बताए ।

कार्यालय यहाँ नभएपछि कार्यालयको स्वामित्वमा जग्गा रहेकोले नगरपालिकाले जग्गाको संरक्षण गर्नुपर्ने निमित्त शाखा प्रबन्धक साहले बताए । जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले सडक निर्माण नाप तथा नक्सांकन गरेर नै बनाइरहेको बताउँदै सरकारी जग्गा अतिक्रमण गर्ने कुनै मनसाय नगरपालिकाको नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जग्गा अतिक्रमण पनि भएको छैन । हामीले नापी कार्यालय तथा कार्यालयको नापी टोलीले गरेको नक्सांकनका आधारमा सडक बनाइरहेका छौँ ।

कृषि सामग्री कम्पनी लिमिटेडले हामीसँग कुनै समन्वय गरेको छैन ।” सडक निर्माण अगाडि बढेपछि मात्रै कृषि सामग्री कम्पनी लिमिटेडको पत्र प्राप्त भएको बताउँदै सरकारी जग्गाको क्षति हुन नदिन पुनः नापी कार्यालय, जलेश्वर नगरपालिकाको नापी टोली तथा कार्यालयका प्रतिनिधि राखेर नक्सांकन गरी सडक निर्माण गरिने बताए ।

नगरस्तरीय योजनाबाट १० लाख रुपैयाँको लागतमा तत्कालका लागि माटो र ग्राभेल हालेर सडक निर्माण भइरहेको नगर प्रमुख सोनारले बताए । जलेश्वर नगरपालिकाका–९ का वडाध्यक्ष रवीन्द्र यादवले सरकारी जग्गामा नगरपालिकाले सडक बनाइरहेको पाएपछि आफूले विरोध गरे पनि रातारात सडक निर्माण भइरहेको पाएपछि कृषि सामग्री कम्पनी लिमिटेडलाई आफूले जानकारी गराएको बताए ।

सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व अनुसार आफूले कार्यालयलाई जानकारी गराएको र कार्यालयका प्रमुख स्थलगत अवलोकनपछि जग्गा मिचिएको पाएपछि सो कार्य नगर्नका लागि वडालाई समेत पत्राचार गरेको बताए । जलेश्वर नगरपालिकामा बाइपास बनेपछि बजारभित्र सवारी साधनको चाप घट्ने हुँदा सो सडक जलेश्वरको राम्रो विकल्प रहेको भनाइ स्थानीयको रहेको छ ।

Comment


Related News

Latest News

Trending News