
नेपालमा मनसुन भित्रिएको एक महिनापछि अद्यावधिक आँकलन सार्वजनिक गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आँकलन अद्यावधिक गरी आउँदो असोज मध्यसम्मको अवस्था सार्वजनिक गरेको हो ।
अद्यावधिक आँकलन अनुसार अबका तीन महिना मधेसका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुनेछ । मनसुनको एक महिना बित्दा पनि मधेसमा उल्लेखनीय वर्षा हुन सकेको छैन । त्यस्तै अबका तीन महिना कोशीका दक्षिणी भागमा सरदर पानी पर्ने र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
यसअघि गएको वैशाखमा विभागले गरेको पूर्वानुमान अनुसार यसवर्ष मधेसमा सरदर हाराहारी र कोशीमा सरदरभन्दा धेरै पानी पर्ने उल्लेख थियो । सामुद्रिक र मनसुनी गतिविधि हेर्दा कोशी र मधेसमा यसअघिको पूर्वानुमान संशोधन गरिएको विभागले बुलेटिनमार्फत जनाएको छ ।
पछिल्लो पूर्वानुमान अनुसार मधेस प्रदेशका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दक्षिणी भागमा कम पानी पर्ने देखिन्छ । कोशीका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटामा, पाँचथर, भोजपुर, खोटाङका दक्षिणी भागमा सरदर पानी पर्ने आँकलन गरिएको छ । देशका अरू ठाउँमा भने यसअघिको मौसम पूर्वानुमान मिल्ने अनुमान छ ।
यसैबीच आज बिहान मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा आज दिउँसो पनि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।