
रुसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिएको छ । चार वर्षअघि अमेरिकी सहयोगको सरकारलाई लखेटेर तालिवानले शासन थालेपछि यो सत्तालाई मान्यता दिने रुस विश्वकै पहिलो देश बनेको छ । रुसका लागि अफगानी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै रुसले तालिवनासँगको सहकार्यको ढोका खोलेको हो ।
रुसी विदेश मन्त्रालयले भनेको छ- हामीलाई विश्वास छ कि इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।
तत्कालीन सोभियत संघको पालामा पनि रुसी कम्युनिस्ट सत्ताले अफगानिस्तानमा आफ्नो पक्षको शासन चलाएको थियो । त्यसबेला रुसी कम्युनिस्ट पक्षधरविरुद्ध अमेरिकाले बिन लादेनहरू खडा गरेको आरोप छ । कालान्तरमा लादेन नै अमेरिकाको दुश्मन बनेर अमेरिकाबाटै मारिएका थिए ।