
चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । साउनयता जेठ अन्तिमसम्म वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको हो । यो गएको आर्थिक वर्षको तुलनामा ४५ अर्ब २१ करोड भन्दा धेरैको आयात हो ।
अघिल्लो आर्थिक वर्षको ११ महिनामा सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल वीरगञ्ज नाकाबाट आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आर्थिक वर्ष भटमासको कच्चा तेल आयातसँगै प्रशोधित निर्यात पनि उल्लेखनिय रहेको बताउनुभयो ।
मुख्यगरी व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी फेरि निर्यात गरेको पाइन्छ । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा भटमासको तेल प्रशोधित निर्यात ५५ अर्ब तीन करोड छ । यसमा २५ करोड ८८ लाख १४ हजार लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।
अघिल्लो वर्ष आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार लिटर मात्रै भटमासको प्रशोधित तेल निर्यात भएको थियो । चालू आर्थिक वर्षको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । तर अघिल्लो आर्थिक वर्षको त्यहि अवधिमा आठ अर्ब चार करोड मूल्यको आयात थियो ।
वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी अघिल्लो वर्षे ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।