२०८२ असार २२, आईतवार ०६:३९

नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमाले बाधक रहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको आरोप लगाए । धनुषा क्षेत्र नम्बर ३ बाट एमालेकी जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य छन् ।

कांग्रेसका तत्कालीन मन्त्री महन्थ ठाकुरको नेतृत्वमा विश्वविद्यालय स्थापनार्थ कार्यदल गठन भएको उनले स्मरण गरे । विश्वविद्यालय स्थापनाका लागि ठाकुरले खेलेको भूमिकाको उनले स्मरण गर्दै प्रशंसा गरे । सो विश्वविद्यालय स्थापनाका लागि प्रयास सुरू गर्दा जनकपुरधामकै केही बुद्धिजीविहरूले विरोध गरेको उल्लेख गर्दै नेता निधिले भने, ‘तर धेरै उतारचढावका बावजुद सम्भव भएको छ ।’ नेता निधिले संसद विघटन भएको अवस्थामा आफू शिक्षामन्त्री छँदा अध्यादेशमार्फत राजर्षिजनक विश्वविद्यालय स्थापनाका लागि कानुन बनाएको उल्लेख गरे । उनले नेपाल सरकारको स्वामित्वमा सञ्चालन हुने भनेर ऐनमै उल्लेख भएको राजर्षिजनक विश्वविद्यालयमात्र रहेको जानकारी दिए ।

जनकपुरधामस्थित राराब क्याम्पसका प्राध्यापकहरूले दिएका सुझाव अनुसार राजर्षिजनक विश्वविद्यालयको ऐन बनाइएको उनले बताए । राराब क्याम्पस आधार क्याम्पस हुने भनेर राजर्षि विश्वविद्यालयको ऐनमै उल्लेख भए पनि हालसम्म यस अन्तर्गत आउन नसक्नु दुःखद रहेको निधिले बताए ।

संसदबाट राजर्षि विश्वविद्यालय स्थापनाको निर्णय हुँदा मुलुकमा प्रजातन्त्र बहाली भएजस्तै आफूलाई खुशी लागेको उनले बताए । शरूमा मुजेलियामै विश्वविद्यालयको मुख्य कार्यालय स्थापना गर्ने प्रयास गरिए पनि त्यहाँ विभिन्न कार्यालयहरू रहेकाले सम्भव हुन नसकेको स्मरण गरे । मुजेलियामा सम्भव नभएपछि विश्वविद्यालय भवन निर्माणका लागि हाल नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारीमा गुठी अधिनस्त जग्गा छुट् याइएको निधिले जानकारी दिए ।

मुजेलियामा रहेको स्थानीय प्रशिक्षण केन्द्र र सडक विभाको जग्गामा विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने स्थापना कालमै निर्णय भएको थियो । तर नेता निधि भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला त्यसबाट ४ बिघा जग्गा सशस्त्र सीमा सुरक्षा बलको कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयलाई त्यहाँ बनाउन नदिने उद्देश्यले सो जग्गा सशस्त्र प्रहरीलाई दिएको थियो ।

जटही बोर्डरमा हुनुपर्ने सशस्त्र प्रहरीको कार्यालयलाई जनकपुरधामको पनि उत्तर तर्फ राख्ने निधिले निर्णय गराएको आरोप छ । छ लेन सडक र भन्सार कार्यालयसमेत स्थापना हुने क्रममा रहेको जटहीमा नै सशस्त्र प्रहरीको कार्यालय स्थापना गरी सडक र प्रशिक्षण केन्द्र समेतको सम्पूर्ण जग्गा विश्वविद्यालयलाई दिनुपर्नेमा विवाद देखिएको छ । के हो विवाद ? राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणका लागि जनकपुरधामको छिमेकी नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारी भन्ने ठाउँमा गुठी अधिनस्त जग्गा लिजमा लिइ विश्वविद्यालय भवन निर्माण गर्ने सम्झौता भइसके पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव केही राजनीतिक दलका नेताहरूको दबाब र प्रभावमा परी निर्माण कार्य अगाडि बढाउन नचाहेको बताइएको छ । विश्वविद्यालय स्रोतका अनुसार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने मुजेलियामा भवन निर्माणका लागि उपकुलपति यादवमाथि दबाब दिइरहेका छन् ।

केही दिनअघि कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाउन गएका जिल्ला नेताहरूसमक्ष उपकुलपति यादवले राजनीतिक दबाबका कारण विश्वविद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताएका थिए । यद्यपि उनले कुनै राजनीतिक दल र नेताको नाम लिएनन् ।

हाल जनकपुरधाम–८ मा भाडाको घरमा सञ्चालन भइरहेको विश्वविद्यालयको आफ्नै भवन बनाउन केही अघि गुठी संस्थानसँग सम्झौता भएको छ । विश्वविद्यालय व्यवस्थापन र गुठी संस्थान केन्द्रीय कार्यालयबीच भवन निर्माणका लागि गत वर्ष सम्झौता भएको हो। वार्षिक ५ लाख रुपैयाँ केन्द्रीय गुठी संस्थानलाई तिर्नेगरी विश्वविद्यालय भवन निर्माणका लागि मनिहारीमा ९ बिघा १४ कठ्ठा १३ धुर जग्गा प्राप्त गर्ने सम्झौता छ ।

विश्वविद्यालय भवन निर्माणका लागि बजेटको समेत अभाव नरहे पनि उपकुलपति यादव राजनीतिक दबाबमा परेर निर्माण कार्य अगाडि बढाउन न चाहेको नेता निधिको आरोप छ ।

मुजेलियामै विश्वविद्यालय निर्माण गर

सहमहामन्त्री महेन्द्र यादव निकट रहेका कांग्रेस मधेश प्रदेश समिति सदस्य बजरंग यादवले शुक्रबार प्रेस विज्ञप्ति निकालेर मुजेलियामै विश्वविद्यालय भवन निर्माण गर्न माग गरेका छन् ।

प्रदेश समिति सदस्य यादवले एक विज्ञप्ति जारी गर्दै राजर्षि जनक विश्वविद्यालय जनकपुरधाममै हुनुपर्ने माग गरे । विश्वविद्यालयको विधानमा पनि जनकपुरधाममै विश्वविद्यालय हुनुपर्ने उल्लेख गरिएकाले यसलाई ग्रामीण क्षेत्रमा नसार्नका लागि उनले आग्रह गरे । फुलगामामा सार्दा विश्वविद्यालयको अस्तित्व नै जोखिममा पर्ने भएकाले जनकपुरधाममै जग्गाको व्यवस्थापन गर्नुपर्ने माग सदस्य यादवले गरे ।

Comment


Related News

Latest News

Trending News