२०८२ असार २२, आईतवार ०६:४८

भारतको बिहारको मुज्जफरपुरबाट किङ इण्डियाको सहयोगमा मधेश प्रदेशका सात जना किशोरको उद्धार गरिएको छ ।

गत चैत महिनामा अभिभावककै सहमतिमा पैसा कमाउन भारतको लुधियाना जान लागेका पाँच जना र बितेको वैशाख महिनामा भारतको तमिलनाडुको चेनै जान लागेका दुई जनागरी सात जना किशोरलाई भारत बिहारको मुज्जफरपुरबाट उद्धार गरी प्रहरीको रोहबरमा शनिबार परिवारको जिम्मा लगाइएको प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशले जनाएको छ ।

पैसा कमाउन भारत जान लागेका उनीहरूलाई बिहारको मुज्जफरपुर रेल्वे स्टेसनमा त्यहाँका स्थानीय प्रहरीले नियन्त्रणमा लिएको प्रदेश समन्वय अधिकृत सञ्जिव महतोले जानकारी दिए । प्रहरीले सोधपुछ गरी जन्मदर्ता हेर्दा सातै जनाको काम गर्ने उमेर नदेखेपछि उनीहरूलाई प्रहरीले स्थानीय बाल कल्याण समितिलाई जिम्मा लगाएको थियो ।

मुज्जफरपुरका बाल कल्याण समितिले प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशलाई पत्र पठाएर घटनाबारे जानकारी गराएको थियो ।

उद्धार गरी परिवारजनलाई जिम्मा लगाउनेहरूमा सर्लाही जिल्ला विष्णु गाउँपालिकाका १४ वर्षीय दीपक मुखिया, सोही ठाउँका १४ वर्षिय विकि मुखिया, सर्लाही जिल्ला हरिपुर नगरपालिकाका १७ वर्षीय करणकुमार सदा, महोतरी भङ्गहा नगरपालिकाका १४ वर्षीय फेकु सदा, १६ वर्षीय रुपेशकुमार सदा, १७ वर्षीय गोबिन्द सदा र महोतरी जिल्लाको मटिहानी नगरपालिकाका १७ वर्षीय गोविन्द सदा रहेको प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशका प्रहरी सहायक निरीक्षक सुनिलकुमार ओझाले बताए ।

Comment


Related News

Latest News

Trending News