
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रिएका पूर्वप्रदेश सांसद यादवलाई सर्लाही जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१० स्थित सलेमपुरका यादवको खोजी गर्न थालेपछि उनी फरार छन् । सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शनिबारसम्म यादव पक्राउ नपरेका बताए ।
अध्यक्ष यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईले बताए । अध्यक्ष यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो संख्यामा प्रहरी जम्मा पारेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबार मध्यराति नै यादवलाई पक्राउ गर्न जाँदा उनका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको छ ।
जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबीच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो । आर्थिक चलखेल गर्ने सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड् कालाई टेलिफोन गरेर आपत्ति जनाए ।
अध्यक्ष यादवले पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढंगले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भने । सो कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘ तिमीहरु लुटेरा, मधेशमा कमाउन भनेर आएको’ भनेका छन् । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबीच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले यत्रतत्र भाइरल बनेको छ ।
असार १२ गते पूर्वाधार विकास कार्यालय मलंगवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राईले दिएको जानकारी अनुसार १२ गतेको घटनापछि असार १३ गतेदेखि पूर्वाधार विकास कार्यालयमा निरन्तर प्रहरी तैनाथ गर्ने गरिएको छ ।
पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजना बिक्री, योजनाको रकम भुक्तानीलगायत काममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो व्यापक रुपमा आइरहेकै छ । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि यादवले आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोखे । उनले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको आरोप लगाए ।
अध्यक्ष यादवको पार्टी जसपा सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुव्र्यहार गरेको र मध्यराति डाका शैलीमा प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षरित विज्ञप्तिमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने उल्लेख गरिएको छ ।