
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुलाई लक्षित गर्दै संचालित निःशुल्क कम्प्युटर कक्षाबाट २ सय बढी युवाहरु लाभान्वित भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२) का सभापति समेत रहेका वडाध्यक्ष पजियारले युवाहरुलाई प्रविधिसँग जोड्ने उद्देश्यले तीन महिने तथा छ महिने कम्प्युटर तालिम उपलब्ध गराउने लक्ष्य अनुरुप सो कक्षाको संचालनमा ल्याएका थिए । कम्प्युटर कक्षामा १४ देखि ३५ वर्षसम्मका २ सय जना युवाहरुले तालिम लिएका छन् ।
वडाध्यक्ष पजियारले आफ्नो वडाका युवाहरुकालागि आफ्नै नीजि लगानीमा यस्तो कक्षा संचालन गर्दा आफूलाई खुशीको अनुभूति भईरहेको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा इलेक्ट्रिसियन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमसम्बन्धी तालिम समेत सञ्चालन गर्ने योजना रहेको बताए ।