नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकै कारण जनकपुरधामको विकास हुन नसकेको आरोप लगाएका छन् । जनकपुरधाममा आइतबार आयोजित प्रेस मिटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सचिव महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन नबन्नुमा नेता निधिकै विकास विरोधी हर्कत रहेको आरोप लगाए ।
‘प्रशासनिक भवन फुलगामाको मनिहारीमा बनोस् वा अन्य ठाउँमा बनोस्’ उनले भने, मुजेलियामै विश्वविद्यालयको भौतिक संरचना निर्माण भएमा यहाँका वासिन्दालाई सहज हुने छ । उनले घुमाउरो पारामा फुलगामामा निर्माण हुने कुरा नदोहो¥याए पनि मुजेलियामै निर्माण गर्नुपर्ने सुझाए । नेता निधिमाथि आरोप लगाउँदै सचिव महासेठले पटक–पटक विकास विरोधी काम गर्ने र अरुमाथि आरोप लगाउनु लज्जास्पद रहेको टिप्पणी गरे ।

समानुपातिकबाट छानिएका प्रतिनिधिसभा सदस्य निधिले विश्वविद्यालय स्थापनामा कुनै पनि भूमिका नरहेको जिकिर गर्दै उनले झुटो बोलेको महासेठको आरोप थियो । नेता निधिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनिहारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।
उनले भने, ‘विमलेन्द्र निधिजी मेरो मित्र हो, म उहाँलाई सम्मान गर्छु, तर उनको पछिल्लो समय आएको अभिव्यक्ति गैर राजनीतिक र पूर्वाग्रहले परिपूर्ण रहेको छ ।’ कार्यक्रममा रहेकी नेतृ जुली महासेठले आफूलाई महिला सांसद भनेर निधिले अपमान गरेको आरोप लगाइन् । एमाले सचिव महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाए ।
‘वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्र ाष्ट्रिय शक्ति लागि परेको छ’ उनले भने, त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेका छन् । प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए । वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि गठबन्धनको बिरोधमा रहेको उनले बताए । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको उनले दावी गरे ।देशमा अहिलेको गठबन्धनको विकल्प नरहेको समेत उनले बताए ।
नेता महासेठले पार्टी अध्यक्ष केपी ओलीकै सहमतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने दाबी गरेका छन् । महासेठले अध्यक्ष ओली र भण्डारीबिच कुनै अन्तरविरोध नभएको दावी गरे । ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ ।’ उनले भने, ‘हाम्रो संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कुनै बन्देज लगाएको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । सचिवालय बैठकमा पनि यसबारे छलफल भएकै हो ।’ ‘उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने किन रोक्ने ? संविधान र विधानले रोक्ने अधिकार दिएकै छैन’, उनले भने– ‘पूर्व राष्ट्रपतिले पार्टीभित्र अन्तर्विरोध बढाउने काम गर्नुभएको छैन । ‘हाम्रा एक दुई जना साथीहरूले अन्तर्विरोध बढाउने काम गरिरहनुभएको छ ।’ उनले भने, त्यो पनि राम्रो होइन ।
पूर्व राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको छ, त्यो राम्रो होइन ।’ भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउन सदस्यता नवीकरण गरेर फर्किने घोषणा मात्र गरेकाले कसरी अगाडि जाने विषयमा कुनै जानकारी नगराएको महासेठले बताए । अध्यक्ष ओली र भण्डारीबिच बाहिर जुन खालको अन्तर्विरोध भएको हल्ला चलिरहेको छ, त्यो निराधार रहेको छ ’ उनले भने, ‘अहिले बाहिर जुन प्रकारको हल्ला छ । प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच अन्तर्विरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेको छ । मिडियामा दिनहुँ कित्ताकाटको समाचार आइरहेका छन् । यसको कुनै सत्यता छैन । कुनै अन्तर्विरोध छैन । ’ उनले मिडियाले आफूलाई पनि कित्ताकाट गरेकोमा असन्तुष्टि जनाउँदै कुनै कित्तामा नरहेको स्पष्ट पारे ।

