मधेश प्रदेशसभा सदस्य हसिना खातुनले पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख विजय कुमार यादवमाथि सांसद विकास कोषको योजना बिना जानकारी बिक्री गरेको गम्भीर आरोप लगाएकी छन् ।
आइतबार प्रदेश सांसद खातुनले सर्लाहीको गोडैता नगरपालिका–१० स्थित सिसोटिया झगरु चोकदेखि सुन्दरपुर जाने सडक स्तरोन्नतिको लागि स्वीकृत ३५ लाख रुपैयाँको योजनाबारे कार्यालय प्रमुख यादवले कुनै जानकारी नदिई योजना बिक्री गरेको दाबी गरिन् । उनले जनाए अनुसार सो योजना उपभोक्ता समिति मार्फत संचालन गरिने भन्ने पत्र आफूसँगै रहेको र समितिको गठन प्रक्रिया अघि बढाउन कार्यालय गएकी थिइन् । तर योजना दुई दिनअघि नै सम्पन्न भएको सूचना प्राप्त भएपछि उनी स्तब्ध भएको बताइन् ।

सांसद खातुनले जनाए अनुसार उनले यसबारे प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जानकारी गराएकी थिइन् । मुख्यमन्त्री सिंहले सांसदको योजना विना सांसदको अनुमती नचलाउन निर्देशन दिएको तर पनि विक्री गरिनु गलत रहेकोले प्रमुख यादवसँग जवाफ माग्ने अश्वासन दिएको बताइन् ।
त्यस्तै, खातुनले आफ्नो पार्टी जनमतका संसदीय दलका नेता महेश यादवलाई पनि योजना बिक्रीबारे जानकारी दिएकी थिइन् । नेता यादवले योजना विक्री गरेको सम्वन्धमा स्थानीय जनतालाई सच्चाइ अवगत गराउनका लागि भनेको र कानुनी प्रक्रियामा जान भनेको बताइन् । खातुन मधेश प्रदेशमा सर्लाही क्षेत्र नं १ बाट जनमत पार्टीकी प्रदेशसभा सदस्य छन् ।
पूर्वाधार विकास कार्यालय सर्लाही यसअघि पनि विवादमा मुछिँदै आएको छ। केही समयअघि यसै कार्यालयका कारण जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र खड् काबीच विवाद चुलिएको थियो । त्यो विवाद सेलाउन नपाउँदै फेरि कार्यालय प्रमुख यादवको अर्को चर्तिकला सार्वजनिक भएको छ ।

