
गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्नेहरूबाट अरूलाई नैतिकताको पाठ नपढाउन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पेन भ्रमणलाई लिएर उठाइएको प्रश्नप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको भ्रमणमा को–को गएका हुन् भन्ने कुरा सरकारबाटै सार्वजनिक हुने भएकाले अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरे ।
‘कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ मन्त्री लेखकले भने, ‘हामी सबैले न्युनतम जानकारी र तथ्य राखेर कुरा गर्नुपर्छ ।’
उनले प्रतिनिधिमण्डलमा को–को गएका हुन् र को फर्किएनन् भन्ने कुरा स्पष्ट रूपमा उठाएमा सरकारले जवाफ दिन सजिलो हुने बताए । साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई जिम्मेवार भएर मर्यादित रूपमा विषय प्रस्तुत गर्न सुझाव दिए ।
गृहमन्त्री लेखकले राष्ट्रिय सभा सदस्यसमेत रहेका रवि लामिछानेको पुरानो प्रसंगसमेत उल्लेख गरे । ‘मान्य रवि लामिछानेज्यू कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको भन्ने सुनेको छु,’ उनले भने, ‘त्यो भिसा भिजिट भिसा थिएन भने के थियो भन्ने जानकारी गराइदिनुहोस् ।’
उनले थपे, ‘भिजिट भिसामा गएर उतैको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? अनि त्यस्ता दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन ?’
गृहमन्त्री लेखकले नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्नु अघि आफैँबाट सुरु गर्नुपर्नेमा पनि जोड दिए । ‘यस्तो कुरा मैले आजसम्म भनेको थिइनँ, तर साथीहरू अलिकति गर्न नहुनेतिर लाग्नुभएको देखियो,’ उनले भने ।