
चालु आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा मधेश प्रदेश सरकारले ५६ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार विहानसम्ममा कुल बजेटको ५६ प्रतिशत खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल रहेको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा बुधबार बिहानसम्ममा २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ खर्च भएको सो कार्यालयले पुष्टि गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाए अनुसार बुधबार राति १२ बजेसम्म भुक्तानी हुने भएकाले खर्च अझै बढ्ने नै छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट खर्च बढ्ने भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ५५ दशमलव ७५ प्रतिशत खर्च भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेश सरकारले ५७ दशमलव ४२ प्रतिशत बजेट खर्च गरेको थियो ।
मधेश प्रदेशसभाको कुल बजेट ४९ करोड ८१ लख ८६ हजार ७२८ रुपैयाँ मध्ये ३५ करोड ५४ लाख ६९ हजार ७११ रुपैयाँ चालु आर्थिक वर्षमा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले सार्वजनिक गरेको खर्चको विवरणमा उल्लेख छ ।
प्रदेश लोक सेवा आयोगको चालु आर्थिक वर्षको कुल १२ करोड ८८ लाख ३१ हजार रुपैयाँमध्ये ९ करोड ५० लाख ८२ हजार ९२२ रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षमा कुल ३ करोड ४२ लाख रुपैयाँमध्ये २ करोड ८९ लाख ७८ हजार ३३४ रुपैयाँ खर्च गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले कुल ४७ करोड ९४ लाख ८ हजार रुपैयाँमध्ये १४ करोड ६८ लाख ८५ हजार ३३० रुपैयाँ खर्चेको छ ।