२०८२ असार २९, आईतवार ०७:२२

प्रचण्ड गर्मी र खडेरीबाट पहिले नै समस्यामा पारेका मधेश प्रदेशका किसानहरूलाई अहिले लम्पी स्किन रोगले झनै पीडा दिएको छ । पहाडमा मात्रै देखिँदै आएको यो रोग हालै केही दिनदेखि मधेश प्रदेशमा पनि तीव्ररूपमा फैलिएको छ र पशुपालनमा संलग्न किसानहरूका लागि गम्भीर चुनौती बनेको छ ।

तथ्यांक पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका अनुसार मधेश प्रदेशमा हालसम्म १ हजार ४१ पशुमा लम्पी स्किन संक्रमण फैलिएको छ भने १५ वटा पशु मरेका छन् । निर्देशनालयका निर्देशक जागेश्वर यादवले यसको नियन्त्रणका लागि सरकारले हालै १ लाख ९५ हजार डोज खोप उपलब्ध गराएको छ जसलाई प्रदेशका आठवटै जिल्लामा वितरण गर्ने प्रक्रिया थालिएको बताए । उनले भने, “पछिल्लो वर्षको तुलनामा यस वर्ष लम्पी स्किनको त्रासदी कम छ, त्यसैले अत्यधिक डराउनुपर्ने अवस्था छैन । छिट्टै नै यो रोगलाई नियन्त्रणमा ल्याएर उन्मूलन गर्ने लक्ष्य लिएका छौं ।“

निर्देशनालयका अनुसार लम्पी स्किन रोगबाट मधेश प्रदेशमा हालसम्म १ हजार ४१ पशु प्रभावित भएका छन् । तीमध्ये सबैभन्दा बढी सिरहा जिल्ला प्रभावित रहेको छ, जहाँ ३७३ वटा पशुमा संक्रमण देखिएको छ । सिरहापछि दोस्रो सबैभन्दा प्रभावित जिल्ला धनुषा रहेको छ, जहाँ ३३० पशुमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सर्लाहीमा २५०, रौतहटमा ७६ र बारा जिल्लामा १२ वटा पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । सप्तरी, महोत्तरी र पर्सामा भने हालसम्म लम्पी स्किन संक्रमणको कुनै पनि घटना फेला परेको छैन । प्रदेशमा सबैभन्दा बढी धनुषामा ७ पशु मरेका छन् । सर्लाही र रौतहटमा समान ४÷४ वटा पशु मरेका छन् भने अन्य जिल्लामा हालसम्म पशु नमरेको निर्देशनालयले जनाएको छ ।

लम्पी स्किन संक्रमणबाट सर्लाहीको हरिवन नगरपालिकामा ३ र लालबन्दी नगरपालिकामा १ गरी कुल ४ वटा पशु मरेका छन् । त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकामा ३ र गौर नगरपालिकामा १ पशु मरेका छन् । यसैबीच, संक्रमण फैलिन नदिनका लागि खोप अभियानलाई तीव्र बनाइएको छ । हालसम्म प्रदेशभर २ लाख ४४ हजार ९ सय ८८ पशुलाई खोप लगाइसकिएको छ ।

निर्देशनालयका अनुसार, यीमध्ये २ लाख ३१ हजार ५ सय १३ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा ३ हजार ७ सय पशुलाई खोप लगाइएको छ । निर्देशक यादवका अनुसार गाई तथा भैंसीहरूमा देखिने एक विषाणुजन्य रोग हो, जुन मुख्यतया टोक्ने किरा (जस्तै मसिना लामखुट्टे र टिक आदि) मार्फत सर्ने गर्छ ।

यो रोग पशुपालन क्षेत्रमा निकै खतरनाक मानिन्छ ।उनले भने,‘ मधेश प्रदेशमा लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार बीच समन्वय गरी बहुआयामिक उपायहरू अपनाइएको छ । रोगको प्रकोप रोक्न समयमै खोप, जनचेतना, र प्राविधिक सहयोग मुख्य उपायहरू रहेपनि निर्देशनालयमा प्राविधिकको कमी रहेको छ ।’ प्रदेशभर खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरूमा निःशुल्क खोप वितरण कार्य भइरहेको बताउदै उनले भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्रहरू र स्थानीय तहका पशु सेवा शाखाहरूको समन्वयमा खोप कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाइएको बताए । उनले भने,‘ संक्रमण फैलिन नदिन संक्रमित गाईभैंसीलाई अन्य स्वस्थ जनावरबाट अलग राख्ने व्यवस्था गरिएको छ ।

कृषकहरूलाई सचेत गराउनुका साथै आवश्यक परे स्थानीय तहको सहयोगमा क्वारेन्टाइन स्थलको समेत व्यवस्था मिलाइएको छ । रोग फैलाउने कीटहरूको नियन्त्रणका लागि गोठघर वरपर झिंगा, लामखुट्टे, टिक हटाउने कीटनाशक औषधि छर्किएको छ । साथै गोठ सरसफाइ, मलमुत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपायहरू अपनाउन कृषकलाई प्रेरित गरिएको छ ।’ उनले सीमापारीबाट पनि संक्रमण भित्रिने भएकोले सीमापारीबाट पशु आवागमनमा कडाइ गरिएको चेकपोइन्ट स्थापना गरी बिनाजाँच पशु आवतजावतमा रोक लगाइएको बताए ।

यसैबीच, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरूमार्फत आवश्यक औषधि तथा प्राथमिक उपचारका सामग्री कृषकलाई उपलब्ध गराइएका छन् । गम्भीर अवस्थाका लागि पशु चिकित्सक टोली खटाएर उपचार सेवा प्रदान गर्ने व्यवस्था पनि गरिएको छ ।

Comment


Related News

Latest News

Trending News