२०८२ असार २९, आईतवार ०७:३९

पूर्व–पश्चिम लोकमार्गको स्तरोन्नति कार्यमा मुख्य बाधक बनेका सडकछेउका रुख हटाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

धनुषाको कमला देखि बारा जिल्लाको पथलैयासम्मको १३० किलोमिटर दुरीमा पर्ने सडक खण्डमा ३१ हजार ५२९ वटा रुख हटाउने वन तथा भू–संरक्षण विभागको निर्णयसँगै अब स्तरोन्नतिको काम तीव्र हुने भएको छ । विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार रुख कटानको आदेश दिएको छ । उक्त आदेशपछि गौरीडाँडास्थित कमला– ढल्केवर–पथलैया सडक आयोजनाले रुख व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।



आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०८१ सालमै स्वीकृत भए पनि रुख कटानको अनुमति आउन दुई वर्ष लागेको थियो । विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा सञ्चालित पूर्वी खण्ड स्तरोन्नति योजना अन्तर्गत सडक विस्तारको काम सन् २०२५ को जनवरी १ देखि धनुषाको कमला पुल पश्चिम, सर्लाहीको बडहरी र फूलजोर—तीन स्थानबाट एकैसाथ सुरु गरिएको थियो ।

हालको दुई लेन सडकलाई सहरी तथा बजार क्षेत्रभित्र ६ लेन (३१ मिटर चौडाइ) र अन्य क्षेत्रमा ४ लेनसहित ‘मेडियन’ सहित १८ मिटर चौडा बनाउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो । कमला–बडहरी खण्डको जिम्मा भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले लिएको छ भने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्डमा चिनीया कम्पनी एसडब्ल्यु इजे र नेपाली कम्पनी रखुवा कन्स्ट्रक्सन को संयुक्त उपक्रमले काम गरिरहेको छ ।तर, रुख तथा विद्युतीय पोल जस्ता संरचनात्मक अवरोधका कारण निर्माण कार्य निर्धारित गति अनुसार अघि बढ्न सकेको छैन ।

आयोजनाले काम सुरु भएको ६ महिना बितिसक्दा पनि न्यूनतम १५ प्रतिशत प्रगति हुनु पर्नेमा हालसम्म १० प्रतिशत मात्रै काम भएको जनाएको छ । सडक विस्तार अन्तर्गत प्रस्तावित ३४ पुल र १०० कल्भर्टमध्ये हालसम्म १५ पुल र १७ कल्भर्टमा मात्रै काम सम्पन्न भएको छ । आयोजनाका प्रमुख पौडेलले भने, ‘रुख र पोल व्यवस्थापनको ढिलाइले सिभिल स्ट्रक्चर निर्माण प्रभावित भएको छ ।

विशेषगरी डाइभर्सनको लागि आवश्यक ठाउँ अभाव भएको छ ।’ रुख कटानको आदेश आइसके पनि कार्यान्वयनमा केही ढिलाइ हुने संकेत वन अधिकारीहरूले दिएका छन् । मधेश प्रदेशका वन निर्देशनालय प्रमुख जगन्नाथप्रसाद जयसवालका अनुसार रुखमा टाँचा लगाउने, सूची मिलाउने र जिल्लागत समन्वय प्रक्रिया अझै बाँकी रहेको छ । उनले भने, ‘विभागीय आदेश अनुसार प्रक्रिया अघि बढ्छ । अब आयोजनासँग छलफल गरेर यथाशीघ्र कटान कार्य सम्पन्न गर्न लागेका छौं ।’सडक स्तरोन्नतिको काम निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा बाधक अवरोधहरूको व्यवस्थापनमा तीव्रता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

Comment


Related News

Latest News

Trending News