२०८२ असार २९, आईतवार १७:२९

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सँगै सहभागी भएर नेपाली नफर्किएको र मन्त्रीको घुस डिल प्रकरणबारे जवाफ मागेका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) ले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ । बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्नुभएको हो ।



यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिनुपर्ने माग गर्नुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरे । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको विषय उठाउँदै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक शुरू भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाकी सांसद सुमना श्रेष्ठलाई बोल्न दिनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले विरोध गरिरहने अडान राख्नुभयो ।

सांसद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसमेत गर्नुभएको छ ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिनुभयो । उहाँले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग यथावत् नै रहेको र विरोध निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

Comment


Related News

Latest News

Trending News