
यसपालि मनसुनमा हालसम्म सुक्खाजस्तो रहेको तराई भूभागमा यो साता वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेस प्रदेशसहित तराईका कतिपय स्थानमा वर्षा भएको छैन । त्यहाँ पनि अब पानी पर्ने मौसमविद्को भनाइ छ ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले मंगलबार (असार ३१) रातिदेखि मधेसमा ‘मौसमी हलचल देखिने’ जनाएका छन् । पूर्वी तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी र सप्तरीमा मंगलबार रातिदेखि बुधबार (असार ३२) मध्याह्नसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना उनले औँल्याएका छन् ।

यस्तै, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा बुधबार साँझदेखि बिहीबार (साउन १) बिहानको बीचमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
“वर्षा चुरे पहाडको फेद (महेन्द्र राजमार्गको उत्तरी भूभाग)तिर बढी र दक्षिणी भूभाग (सीमावर्ती क्षेत्र)तिर अलि कम हुनेछ । जय होस्,” उनले मंगलबार बिहान लेखेका छन् ।
नेपालमा मौसमी गतिविधिको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि वर्षाको सम्भावना औँल्याएको छ । यसपालि मनसुनमा वर्षा नभएको तराई क्षेत्रमा पनि अब पानी पर्ने राम्रो सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले यो साता देशभर हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जस्तै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि मनसुन सक्रिय हुन लागेको उल्लेख गरेका छन् ।