
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनुभएको छ ।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफुले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनुभएको हो । महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उहाले बतानुभयो ।

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौं महाधिवेशनका प्रतिनिधिहरुले नै भाग लिने भएपनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने जिकिर गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको जिकिर गर्नुभयो । संसद विघटनको घटनाले आफुलाई कुनै दवाव भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उहाले स्पष्ट पार्नुभयो ।
मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । बिचार गोष्ठि, वादविवाद, हाजिरि जवाफ, खेलकुद प्रतियोगिता लगाएतका रचनात्मक क्रियाकपालका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ ।