२०८२ असार ३२, बुधबार ०७:३०

पत्रकारिता क्षेत्रमा करिब चार दशकभन्दा पनि अधिक समयदेखि क्रियाशील रहँदा अचेल पत्रकारिताको बयारले आफूलाई जटिल मोडमा उभिएको पाइरहेको छु । अनुभव पनि छ, अनुभूति पनि छ, सिर्जनशीलता छ, गाम्भीर्य, जिज्ञासा, अन्वेषण, दृष्टि छ,उत्पीडन, दुः ख भोकमरी, अस्वस्थ्यता, निरक्षरता, बेरोजगारी, मानव जातिमा प्राकृतिक वा ईश्वरीय प्रतिभाको प्रयोगविहीन वा न्यून प्रयोगबाट मानव जातिको मूक्तिका निमित्त उपयुक्त हुने किसिमबाट संरचनागत परिवर्तन सन्दर्भमा संघर्षका उहापोह पनि छ तापनि किन हो किन निरीह बोध भइरहेको छ ।

यस क्रममा केही दिन अघि प्रेस काउन्सिलका पदाधिकारीले पत्रकारिता र पत्रकारबारे गरेको प्रश्नले समेत घोत्लिन बाध्य तुल्याएको थियो । यस अघि पनि प्रदेशकै मन्त्रीका असन्तुष्टिको स्वर सुनिएको थियो । मन्त्रीले प्रदेशका सम्पूर्ण निकायको अस्तित्वमाथि प्रश्न खडा गरेका थिए । मन्त्रीले आयोग, काउन्सिल, प्रतिष्ठान, समिति खारेजकै स्वरलाई तीव्र पारेका थिए तर समय, पद परिवर्तनसँगै ती मन्त्रीका लागि सबै बनिकाय प्यारो भयो, सबैको अपरिहार्यता ठान्दै दलबाट निर्दिष्टलगायत नाता पर्नेलाई अवसर प्रदान गरे जो पेशाप्रति हीन भावनाको प्रवाह गरिरहेको छ ।



सत्य लेख्नु पर्छ, पीत पत्रकारिता गर्नु हुँदैन, लेखन सत्यमा आधारित हुनु पर्छ, पूर्वाग्रही लेखनले आघातको अवस्था सिर्जना हुन्छ, ती मन्त्रीको प्रायः भाष्य हुन्छ । यही पृष्ठभूमिमा मुख्यमन्त्रीको प्रेस सल्लाहकार नियुक्त प्रसंग विस्मयकारी छ । पृथक आस्था भएकालाई कुन शर्त र नैतिक घरातलमा अपनत्व बोघ गरे र केही दिनमै उनलाई बिरानो र प्रयोजनविहीन सिद्ध गरी अन्य दल परित्याग गराइ जनमत दलीय ब्राण्ंिडग गरी नयाँ प्रेस सल्लाहकार नियुक्त गरी मुख्यमन्त्रीभन्दा पनि आफ्नो दलका अध्यक्षको दाइकै सेरोफेरामा केन्द्रित गरी प्रचारप्रसारका छवि सामाजिक सञ्जालमा शुभारम्भ गरेका छन् ।

मेरो पत्रकारिता यात्रामा यी पलहरुले नैराश्य भावको नजिक पु¥याइ दिएको छ । आफ्नो यात्रा इमानदारिताको यात्रा हो । निष्ठाको यात्रा हो, समर्पणको यात्रा हो । निरन्तरताको यात्रा हो । जवाफदेहिताको यात्रा हो । यसको दृष्टान्त यी प्रसंग हुन् – मलाई समाचार अथवा वास्तविकता जान्ने स्वतन्त्रता देउ, म आफ्ना विचार प्रकट गर्ने र तिनका समर्थनमा तर्क गर्ने स्वतन्त्रता चाहन्छु, मैले वैचारिक स्वतन्त्रता पाएँ भने मलाई कसैले कुनै किसिमको पनि परतन्त्र पार्न सक्दैन भन्ने प्रसिद्ध कवि जोन मिल्टनको भावले अभिप्रेरित भइ वि.स. २०३७ सालतिर मुक्ति प्रभात पत्रिकामा गान्धीवादी नेता महेन्द्रनारायण निधिसँग लिइएको अन्तरवार्तामा फासिष्ट शब्दको प्रयोगले तत्कालीन अञ्चलाधीशले मलाई सोधपुछ गर्ने भनी पक्राउ गरे ।

रामसरोज यादव, लालकिशोर साह, बालकृष्ण साह, नागेन्द्र साह, श्याम घिमिरेलगायतका अगुवाहरुले प्रतिवाद गर्दे थुना मुक्त गर्न आग्रह गर्दे रहे तर अंञ्चलाधीशले मलाई फासिष्ट शब्दको व्याख्या गरेपछि मात्र थुना मुक्त गर्ने शर्त राखे । अञ्चलाधीशको शर्त स्वीकार गर्दे मैले अन्तरवार्तामा प्रयोग भएको फासिष्ट शब्दको यसरी व्याख्या गरेको थिएँ– पृथ्वीभरि जति सम्पादक ,पत्रपत्रिका छन्, ती सबै एउटा न एउटा डोरीले बाँधिएका हुन्छन्, कुनै आफ्नो आस्थाको डोरीले, कुनै अदृश्य लगामले, यही भावभूमिमा फासिष्ट शब्दको प्रयोग भएको हो ।

व्याख्याले अञ्चलाधीश एक छिन शान्त भए, मेरो मुखतर्फ हेर्दे भने सृष्टिगत तथ्य यही हो, विचार, धारणा, दृष्टिकोणमा भविष्य निहित हुन्छ । यी व्याख्याको चार दिनपछि अञ्चलाधीशले थुना मुक्त गरे । यस घटनाले मलाई पत्रकारिताको संसारमा जीवित राखेको छ । म प्राध्यापक पनि भएँ, तर कालकोठरीमा भोगेको मानसिक त्रासको छविले प्राध्यापनमा विराम लगाउँदै पत्रकारिताको धारमा बग्ने भंगालो बन्यो । तर वर्तमानमा कतिपय टेलिभिजन प्रस्तोता र युट्युवर, अनलाइन र लाइभ गर्नेले पत्रकारिता क्षेत्रमा उत्पन्न गरेको संकटको भुमरीले पत्रकारिता प्रेक्षागृहका परिणत भएको छ ।

टेलिभिजन र युट्युबरको संवाद शैली प्रेक्षागृह र चलचित्रको पर्दामा मञ्चन हुने दबंग पात्र बोध हुनुले आफैसँग प्रश्न गर्न जिज्ञासु बनाएको छ, के आधुनिक पत्रकार, पत्रकारिताको स्वरुप यही हो ? न त मिडिया साक्षरता छ, न त तथ्य व्यवस्थित छ, चर्को स्वर, भावभगिंमाका परिदृश्यले प्रपोगण्डाको चक्कर लगाइरहेकोतर्फ मात्र संकेत गर्दछ । प्रवृत्तिगत स्वरुप केलाउँदा फोन गर्ने, सवाद गर्ने, धम्की दिने, स्वनाम खोज पत्रकार घोषित गर्ने, बाहवाहीको माहोल उत्पन्न गराउने, विभिन्न माध्यमले अपमान गर्ने, दिनभरि होटल वा सभासमारोहको मोवाइल लाइभ गर्नेलाई जीवनयापनको सूत्रझै. प्रयोग गरिरहेका छन् ।

यो पहिलो चरणको प्रवृत्तिगत दृश्य हो भने दोस्रो चरणमा भत्ता कति छ ? भत्ता बिनाको कार्यक्रममा नजाने, भत्ता नदिनेको समाचार बहिष्कार गर्ने, विभिन्न माध्यमबाट विरोध, अपमान गरिएका मन्त्री, मुख्यमन्त्री, कार्यालय प्रमुख, स्थानीय निकायका पदाधिकारीसँग मिलेमतो गरी कार्यक्रम, विज्ञापन, भिडियो बनाउने नाममा रकमको चलखेल गरी पत्रकारितामा भिन्न धारको बीजारोपण गरिएको क्षणले पत्रकारिता प्रेक्षागृहमा परिणत भएको हो । यसलाई म पेशागत कलंक मान्दछु ।

मानव जीवनको पर्यायमाथि खतरा हो । ब्रेन निकोल्सले भनेको लाइफ ब्लडमाथि आघात हो । यस्तै कमजोर, विकृति पक्षको वर्चश्वका कारण निरंकुशताविरुद्ध कलम चलाएकाहरु अचेल मुल्यहीनको पात्र बनेका छन् भने कराउने, अभद्र, धम्की, जासुसी मनसाय राख्ने र अधीर, आक्रोश, आवेग, कुण्ठाका नाममा सिद्धान्त विपरीत भएकालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले योद्धाको प्रमाणपत्र, सम्मान भाव दिनु पत्रकारिताको कर्तव्यपथलाई खण्डित गर्नु हो । मेरो बुझाइमा पत्रकारका लागि भाषा, शब्द र शैली उसको जीवन हो, चाहे लेखियोस वा बोलियोस । ध्वनि र दृश्य सहयोगी मात्र हुन सक्छन् ।

शब्दको आधारबिना त्यसको कुनै अर्थ छैन, जीवन पनि छैन । राम्रो भाषा, शब्दको राम्रो ज्ञान र उचित प्रयोगबिना सफल सञ्चारकर्मी वा पत्रकार हुन सम्भव छैन । यद्यपि पत्रकारिता प्रेक्षागृह (रंगशाला ) होइन, ड्रामा होइन, नायक, नायिका, खलनायकले अभिनय प्रदर्शन गर्ने क्षेत्र होइन । द्वन्द्व उत्पन्न गरी बौद्धिक मदिराको शब्दजाल होइन ।

वाचडग भन्दा पनि ल्यापडग हुन पुग्नु मूल्य मान्यता आचारसंहिताको सिद्धान्त होइन । सत्य, तथ्य, सन्तुलन, विश्वसनीयता, वस्तुनिष्ठता र जवाफदेहिता, जनताको विश्वास आर्जन महत्वपूर्ण पक्ष भएकै कारण सम्भवतः नेपोलियन बोनापार्टले यही महत्वपूर्ण पक्षलाई ध्यानमा राख्दै भनेका होलान– पत्रकार सिकायतकर्ता, सल्लाहकार, टिप्पणीकार र राष्ट्रका शिक्षक हुन्, चारवटा विरोधीपत्र चार हजार संगीनभन्दा पनि बढी शक्तिशाली हुन्छ ।

यसको विशिष्टता सन्दर्भमा महात्मा गान्धीको प्रेरक क्षणलाई मननयोग्य छ । गान्धी जहाँ गए पनि थुप्रै पत्रकारहरुले उनलाई घेर्दथे । एकपटक एक पत्रकारले उनलाई सोधे – के तपाईलाई मरेपछि स्वर्ग नै जान्छु भन्ने विश्वास छ ? गान्धीले जवाफ दिए– मरे पछि स्वर्ग वा नर्क कहाँ जान्छु, मलाई थाहा छैन्, तर जहाँ गए पनि तपाई पत्रकारहरुसँग अवश्य भेट हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

Comment


Related News

Latest News

Trending News