
मिथिलालञ्चल क्षेत्रको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको मधुश्रावणी व्रत नवविवाहिता महिलाहरूले शुरु गरेका छन् ।
विशेषतः नवविवाहिता मिथिलानीहरूले यो व्रतलाई वैवाहिक जीवनको शुभ सुरुआत, दीर्घ दाम्पत्य सम्बन्ध, र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गर्छन् । साउन महिनाको सुरुआतसँगै सुरु हुने यो व्रत विशेष गरेर १३ दिनसम्म निरन्तर चल्ने गर्दछ ।

यस अवधिमा व्रती महिलाहरूले धार्मिक कथा श्रवण, पूजापाठ, र स्वच्छ आचरणको पालन गर्दै पतिको दीर्घायु तथा सुखी वैवाहिक जीवनको कामना गर्छन् । नेपाल भारतमा छरिएका मिथिला क्षेत्रमा महिलाहरूले परम्परागत रूपमा यो व्रत लिने गर्छन् । नवविवाहिता महिलाहरूको लागि यो व्रत वैवाहिक जीवन प्रवेशपछिको पहिलो ठूलो सांस्कृतिक अनुष्ठान मानिन्छ । मधुश्रावणी व्रतको मुख्य विशेषता नाग–कन्या कथा, शिव–पार्वती संवाद, र अन्य धर्मकथाहरूको दैनिक वाचन हो।
यो कथा प्रायः प्रशिक्षित पुरोहित (ब्रह्मण) वा जान्ने महिलाबाट सुनाइन्छ। कथामार्फत धार्मिक शिक्षा, पारिवारिक मूल्य र नारी धर्मको ज्ञान दिने प्रयास गरिन्छ । यस व्रतमा नाग–देवताको पूजा विशेष रूपमा गरिन्छ। व्रती महिलाहरूले नागलाई दूध, अक्षता, कुश र फूल चढाएर पूजा गर्छन् । यसको उद्देश्य सर्पदंशको भय हटाउनु र प्रकृतिप्रतिको सम्मान प्रदर्शन गर्नु छ ।
साथै, यो व्रतमा आयुर्वेदिक भोजनको पनि महत्व हुन्छ। व्रती महिलाहरूले तुलसी, गिलोय, मह, दूध, सागसब्जीजस्ता सात्त् िवक तथा औषधीय आहार ग्रहण गर्छन्। यो अभ्यासले शारीरिक शुद्धता र मानसिक स्थिरता प्रदान गर्ने विश्वास गरिन्छ । मधुश्रावणी व्रतको अर्को आकर्षण हो – परम्परागत पोशाक र श्रृंगार ।
नवविवाहिता महिलाहरू लालीगुँठ, सिन्दूर, पोते, साडी आदि पहिरनमा सजिएर व्रतमा सहभागी हुन्छन् । केही स्थानमा सामूहिक रूपमा पनि पूजा आयोजना गरिन्छ, जसले सामाजिक ऐक्यबद्धता र सांस्कृतिक संरक्षणमा सहयोग पु¥याउँछ । मधुश्रावणी व्रत केवल धार्मिक कार्य मात्र नभई मिथिला संस्कृति र पहिचानको संवाहक पनि हो।
नवविवाहिता महिलामार्फत सो परम्परा पुस्तान्तरित हुँदै आएको छ । यो व्रत महिलाको कर्तव्यबोध, भक्ति, आस्था र संस्कारको प्रतीक मानिन्छ । व्रतका क्रममा महिलाहरूले गीत गाउने, परम्परागत कथा सिकाउने र भजन गाउने कार्यक्रमहरू समेत आयोजना गर्ने गर्छन् । सामाजिक रूपले पनि यो अवसरले महिला सशक्तिकरण र एकता सुदृढ बनाउने विश्वास लिइन्छ ।
मधुश्रावणी व्रत मिथिला समाजको एक जीवन्त, समृद्ध र महिलामैत्री सांस्कृतिक अभ्यास हो, जसले नवविवाहिता महिलालाई पारिवारिक जीवनमा आत्मिक तथा सांस्कृतिक रूपमा सशक्त बनाउने कार्य गर्छ ।