
महोत्तरीको एकडारा गाउँपालिकामा निर्माण व्यवसायीहरूले तालाबन्दी गरेका छन् ।
निर्माण सम्पन्न भएर पनि पालिकाले भुक्तानी रोकेको भन्दै अनु कन्स्ट्रक्सनका सञ्चालक भवेश मिश्र सहितका स्थानीय व्यवसायीहरूले मंगलबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्माण व्यवसायी मिश्रले गाउँपालिकाको वडा– ५ मा पर्खाल निर्माणको काम असार १५ गतेअघि नै सम्पन्न गरेर भुक्तानीका लागि सम्बन्धित कागजातसहितको फाइल कार्यालयमा बुझाइएको थियो । तर पालिकाका कर्मचारीहरूले “कमिसन माग गरेको” र आफूहरूसँग तत्काल रकम नहुँदा भुक्तानी प्रक्रिया रोकिएको व्यवसायी मिश्रले आरोप लगाएका छ्न ।
तालाबन्दी गर्न पुगेका व्यवसायीहरूको अनुसार पालिकाका इञ्जिनियर रोहित झा, लेखा शाखा प्रमुख निरज चौधरी र प्रमुख प्रशासनिक अधिकृत रामजी जोशीको मिलेमतोमा भुक्तानी प्रक्रिया पारदर्शी ढंगबाट अघि बढाइएको छैन ।
यसअघि पनि एकडारामा निर्माण तथा बजेट कार्यान्वयन प्रक्रियामा पारदर्शिताको अभाव रहेको भन्दै स्थानीय नागरिक समाजले आपत्ति जनाउँदै आएको थियो।कमिसन लेनदेन र कार्यालयमा नआइ जनकपुरधामबाट नै भुक्तानी भएको कार्यमा संलग्न भनिएका इञ्जिनियर रोहित झा, लेखा शाखा प्रमुख निरज चौधरी, र प्रमुख प्रशासनिक अधिकृत रामजी जोशीसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क गर्न सकिएन।
यता पालिकाका लेखाप्रमुख निरज चौधरीले पालिकामा नभइ २३,२४ र २५ गते पालिका बाहिर काम भएको स्वीकार गरेका छन् । निर्माण व्यवसायीहरुको एक समूहले गाउँपालिकाको कार्यालयमा गरेको तालाबन्दीले स्थानीय सेवाग्राहीहरुको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।