२०८२ श्रावण २, शुक्रबार ०७:२७

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमाथि अक्रामक देखिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया जनाउँदै अध्यक्ष यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको आरोप लगाएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै सामाजिक सञ्जालमा सचिवालयमार्फत उनले भनेका छन् ,बालुवाटार र च्यासलको शिरमा राज रहुञ्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट छ । ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन’ आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।’

भूमि व्यवस्थामन्त्री अधिकारीको घुस लिएको अडियो सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्षले बिहीबार आफ्नो सचिवालय मार्फत समाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् । अधिकारीको जस्तै हुबहु प्रकृतिको भ्रष्टाचार आरोपमा राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन बाध्य पारिएको भन्दै मधेशी मूलको भएका कारणले त्यस्तो गरिएको यादवको आरोप छ । ‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो,’ यादवले अगाडि भनेका छन्, ‘विचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

जसपा नेपालका अध्यक्ष यादवले भूमि व्यवस्थामन्त्री अधिकारीको अडियो लगायतका प्रमाणहरू छ्यापछ्याप्ती भएपछि ‘बा’ र अधिकारीका सगोत्री समुदाय मौन रहेको आरोप लगाएका छन् । ‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन्’ उनले भनेका छन्, अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ ।’ ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ’ उनले भनेका छन् ।

मन्त्री गुप्ताले पनि अधिकारीको नाम कमिसन प्रकरणमा उल्लेख गरेका थिए । मन्त्री अधिकारीले त्यसको प्रतिक्रिया जनाउँदै घाउ भएको औँला नै झर्ने भनेका थिए । उनले गुप्ताप्रति लक्षित गर्दै त्यसो भनेको धेरैको बुझाइ थियो । सरकारले फास्ट ट्रयाकबाट भूमि सम्बन्धी विधेयक संसदबाट पारित गर्न खोजेको कारण विचौलिया, भूमाफिया लगायतलाई लाभ पु¥याउन रहेको आरोप लागिरहेको बेला भूमि व्यवस्था मन्त्री अधिकारी घुस प्रकरणमा मुछिएका छन् ।

हुन त उनले अडियोमा आप्mनो आवाज नभएको दाबी गरेका छन् । राजीनामा पनि नदिने बताउँदै सरकार पुनर्गठन हुने समय भएको खुलाएका छन् । मन्त्री अधिकारीले अडियोमा आफ्नो आवाज नभए पनि चरित्र हत्या गर्न सार्वजनिक गरिएको दाबी गरेका छन् । वर्षभरिको प्रगति सार्वजनिक गर्ने क्रममा बिहीबार उनले भने, मालपोत अधिकारीलाई फिर्ता बोलाउन भन्न आएकाहरुको माग पूरा नभएपछि चरित्र हत्या गर्न अडियो सार्वजनिक गरिएको छ ।

राजकुमार गुप्तामाथि प्रश्न उठेकै बेला मन्त्री अधिकारीमाथि पनि संसदमा प्रश्न उठाइएको थियो । गुप्ताले नै अधिकारीको नाम खुलाएपछि संसदमा दुवै जनाको राजीनामा र कारबाहीको माग गरिएको थियो । तर प्रधानमन्त्री ओलीले गुप्तालाई बोलाएर राजीनामा लिए पनि अधिकारीसित राजीनामा माग नगरिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कटाक्ष गरेका छन् ।

कमिसन मागेको प्रमाण बाहिरिएपछि गुप्ता र अधिकारीमाथि सम्बन्धित निकायहरुले अनुसन्धान गर्नुपर्ने आवाज समेत उठेको छ । विगतमा पनि मन्त्रीहरुमाथि कमिसन र भ्रष्टाचारको आवाज उठेपछि राजीनामा दिएर चोखिएको बताइएको छ । अध्यक्ष यादवले सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेपछि अधिकारीको अडियो प्रकरण झन् चर्चामा आएको छ । उनलाई हटाउनु पर्ने दबाब प्रधानमन्त्री ओलीमाथि बढेको छ । एमालेका कयौँ नेताहरुले गुप्ता प्रकरणसँगै अधिकारीलाई जोडेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् ।

Comment


Related News