
हरवाचरवाहरूले पुनःस्थापना र कार्यविधि पारितकाे मांगसहित मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि विराेध प्रदर्शन गरेका छन् ।
तेश्रो हरवाचरवा मुक्ति दिवसको अवसरमा आफ्ना माग पूरा गराउन प्रदेश सरकारलाई दबाव दिने उद्देश्यले शुक्रवार दिउंसाे साे दबावमूलमक विराेध प्रदर्शन गरिएकाे हाे ।

हरवा चरवा प्रथा मुक्तिको घोषणा भएको ३ वर्ष वितिसक्दा पनि सरकारले पुनस्थापनाका लागि कार्यविधि पारित गर्न नसकेकाे, बसाेबासका लागि जग्गा उपलब्ध लगायतका मांग पूरा गराउन दबाव दिने उद्देश्यले प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन याे दबावमुलक विराेध प्रदर्शन गरिएकाे राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले बताए ।
`मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ साे समूहले जनकपुरधामकाे विभिन्न स्थानमा दबावमूलक रयाली समेत प्रदर्शन गरेका छन् ।
हरवाचरवाको पुनर्स्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले जाहेर गरेको प्रतिबद्धता कार्यविधि मार्फत पूरा गर्ने भनिएकाे थियाे । तर आजसम्म पूरा हुन नसक्दा हरवा चरवाहरू आन्दाेलनरत छन् ।
मधेशका ८ वटै जिल्लाका हरवा चरवाकाे प्रतिनिधित्वमा गरिएकाे साे रयाली तथा विराेध प्रदर्शन कार्यक्रममा सहयाेगी संस्थाहरू फ्रिडम फण्डका ब्रम्हदेव राम, दलित अधिकार संगम (आरडीएन) का ममता विश्वकर्मा, संजय महरा, सामुदायिक सुधार केन्द्र (सिआईसी) का सतिश ठाकुर र रामवरण दास लगायतका व्यक्तिहरूकाे समेत सहभागिता रहेकाे थियाे ।