२०८२ श्रावण ४, आईतवार ०७:४०

रौतहट प्रहरीको ज्यादती र मलखाद आयातमा रोक लगाइएको भन्दै सिम्रौनगढका व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

रौतहट प्रहरीले भारतबाट सामान्य घरायसी सामान र कृषि उत्पादनका लागि आवश्यक मलखाद ल्याउन पनि नदिएको गुनासो गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।



सो प्रदर्शनको नेतृत्व गरेका कुशवाहाले बताए अनुसार, सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय बन्द गरिएको र त्यहाँका कर्मचारीहरूलाई पनि हटाइएको छ । यसले गर्दा स्थानीय बजार चलाउन कुनै आधार नरहेको उनको भनाइ छ । उनले सरकारले सिम्रौनगढको छोटी भन्सार पुनः स्थापना गर्नुपर्ने पहिलो माग राखेका छन् । उनले किसानहरूलाई एक–दुई बोरा मलखाद ल्याउन पनि प्रहरी प्रशासनले दुःख दिइरहेको आरोप लगाए ।

घर खर्च चलाउनका लागि ५–१० किलो सामान ल्याउँदा पनि प्रहरीले वीरगन्ज भन्सारमा पठाउने गरेकोले आफूहरू निकै पीडित भएको उनको भनाइ छ । प्रहरी र राजस्वका कर्मचारीहरूले निरन्तर छापा मारेर व्यापारीहरूलाई हैरान पारेको र अर्थतन्त्र कमजोर हुँदै गएको कारण सिम्रौनगढका धेरै पसलहरू बन्द भइसकेको व्यवसायीहरु बताउँछन् ।

प्रशासनको दमनका कारण आफ्नो परिवार र व्यवसायको सुरक्षाका लागि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ । आन्दोलनकारीहरूले त्यस क्षेत्रका सांसद अच्युत मैनालीसँग यसबारे ध्यानाकर्षण गराएको र सांसद मैनालीले यसबारे संसदमा कुरा उठाउने कुश्वाहाले जानकारी गराए । उनले सिम्रौनगढका नगर प्रमुखलाई पनि समस्या बारे जानकारी गराए ।

यद्यपि, स्थानीय नेता र जनप्रतिनिधिहरूको यस विषयमा खासै चासो नभएको र उनीहरू भोटको बेला मात्रै देखिने गरेको भन्दै अध्यक्ष कुशवाहाले असन्तुष्टि व्यक्त गरे । यदि माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी उनले चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News