२०८२ श्रावण ४, आईतवार १६:१४

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवका समर्थकहरूले सर्लाहीको सदरमुकाम मलंगवामा जुलुससहित प्रदर्शन गरेका छन्।

यादवमाथि लगाइएको मुद्दा खारेज गर्न र जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गर्दै आइतबार सयौं युवा सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै तत्काल आफ्ना माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।



गत हप्ता मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेको र त्यहाँ अनियमितता भएको विषयमा नेता यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच चर्को विवाद र भनाभन भएको थियो। सोही घटनापछि प्रहरीले यादवलाई पक्राउ गर्न खोजेको थियो। प्रहरी यादवको घरमा पुग्दा स्थानीयले प्रहरीको गाडीमाथि तोडफोडसमेत गरेका थिए । त्यसपछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो। त्यसयता यादव फरार छन्।

नेता यादवमाथि लगाइएको मुद्दा ‘झुठो’ भएको भन्दै जसपासहित सर्लाहीका ६ राजनीतिक दलले उनको समर्थन समेत गरेका छन्।

जसपा, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न र एसपी खड्कामाथि नै कारबाही गर्न माग गरेका छन्।

दलहरूले पूर्वाधार कार्यालयमा भएको भनिएको अनियमितता लुकाउन प्रहरी प्रमुखले नै यादवलाई फसाउन खोजेको आरोप लगाउँदै आएका छन्। मुद्दा खारेज नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ।

Comment


Related News